२४औँ सत्याग्रहअन्तर्गत आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई शनिबार दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको छ।
धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत रहेका डा. केसीको स्वास्थ्यमा निरन्तर गिरावट आएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पताल लगिएको हो। उनका सहयोगी डा. अमृत जैशीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याइएपछि उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ।
शनिबार बिहान सार्वजनिक गरिएको स्वास्थ्य विवरणअनुसार डा. केसीको रगतमा चिनीको मात्रा (ब्लड सुगर) शुक्रबार राति ५६ मिलिग्राम प्रतिडेसिलिटर रहेकामा शनिबार बिहान ५० मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ। साथै, रक्तचाप (ब्लड प्रेसर)मा उतारचढाव भइरहेको, मांसपेशी बाउँडिने समस्या देखिएको तथा बोल्नसमेत असहज भइरहेको चिकित्सकहरूले बताएका छन्।
यसअघि खुट्टाको शल्यक्रिया गराएका कारण उनलाई हिँडडुल गर्न कठिनाइ भइरहेको छ भने बाथरुम जानसमेत समस्या भइरहेको जनाइएको छ। सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।
चिकित्सकहरूले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए। सुरुमा डा. केसीले उक्त सुझावबारे विचार गर्ने प्रतिक्रिया दिए पनि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई अस्पताल लगिएको हो।
यता, शनिबार धनगढीमै डा. केसीको अनशनको विरोधमा प्रदर्शनसमेत भएको छ। केही प्रदर्शनकारीले अनशनस्थलबाहिर भेला भएर ‘गो ब्याक गोविन्द केसी’ र ‘अनशन फिर्ता गर’ भन्ने नाराबाजी गरेका थिए।
डा. केसीले स्वास्थ्य, शिक्षा तथा सुशासनसँग सम्बन्धित पाँचबुँदे माग अघि सार्दै २४औँ सत्याग्रह सुरु गरेका हुन्। सरकारसँग माग सम्बोधनको कुनै ठोस सहमति नहुँदा उनको अनशन जारी रहँदा स्वास्थ्य अवस्था भने चिन्ताजनक बन्दै गएको चिकित्सकहरूले बताएका छन्।









