काठमाडौं — परराष्ट्र मन्त्रालयको आयोजनामा सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि सचिवालय स्थापना गरेको छ। बिहीबार नारायणहिटी दरबारको पश्चिम ढोकास्थित राहदानी विभाग परिसरभित्र सचिवालय स्थापना गरिएको हो।
गत वैशाख २ को मन्त्रिपरिषद्ले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्न सगरमाथा संवादलाई अघि बढाउने निर्णय गरेको थियो।
नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत क्षेत्रका विश्वव्यापी मामला एवं समस्याबारे सरोकार राख्ने मुलुकहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, नागरिक समाज, अनुसन्धाता तथा विज्ञहरू, प्राज्ञिक संस्थाहरूलगायत सरोकारवालाबीच नियमित रूपमा नेपालमा छलफल गर्न सगरमाथा संवाद आयोजना गर्न लागिएको हो।
आउँदो चैत २० देखि २२ सम्म काठमाडौंमा सगरमाथा संवाद हुने भएको छ । संवादमा जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्यबारे छलफल हुने छ । कार्यक्रमको सहआयोजक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुन्धान प्रतिष्ठान छन्। सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयका नीति तथा अनुसन्धान महाशाखाका प्रमुख कुमार खरेललाई दिइएको छ।
सगरमाथा संवाद कार्यक्रमको आयोजना तथा सञ्चालनका लागि नीतिगत तथा विषयगत पक्षमा मार्गदर्शन गर्न एवं सवाद आयोजनाका लागि साधानस्रोत तथा वित्तीय पक्षमा निर्णय गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा स्थायी प्रकृतिको १० सदस्यीय सगरमाथा संवाद निर्देशक समिति गठन गरिएको छ। पहिलो संस्करणको संवाद कार्यक्रमका लागि परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय आयोजक समिति गठन गरिएको छ।
संवाद कार्यक्रममा विदेशबाट करिब १ सय ५० र नेपाली ५० गरी करिब २ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई समेत कार्यक्रममा निमत्याइएको छ ।