संघीय संसद्का १२ वटा समितिले सभापति पाएका छन् । शुक्रबार प्रतिनिधि सभाका १० वटा र दुवै सदनका दुई संयुक्त समितिमा सभापति चयन भएका हुन् ।
प्रतिनिधि सभाअन्तर्गतका अधिकांश समितिमा सभापति निर्विरोध चयन भएका छन् भने केहीमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । प्रतिनिधि सभाका नौ वटा र एउटा संयुक्त समितिमा सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
सार्वजनिक लेखा समितिबाहेक प्रतिनिधि सभाका नौ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सभापति बनेका छन् । रास्वपाबाट अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी र कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी निर्विरोध चयन भएका छन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा भने नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
दुवै सदनको संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् ।
यता, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति’मा भने निर्वाचन भएको थियो ।
शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएकी छन् । उक्त पदका लागि नेकपा (एमाले) का गुरुप्रसाद बरालले पनि उम्मेदवारी दिएका थिए ।
त्यसैगरी, निर्देशक सिद्धान्तसम्बन्धी संयुक्त समितिको सभापतिमा रास्वपाकै गणेश कार्की निर्वाचित भएका छन् । उक्त पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की मदनकुमारी शाह (गरिमा) प्रतिस्पर्धामा थिइन् ।
दुवै समितिमा रास्वपाका सांसदको बहुमत रहेकाले निर्वाचनमा पनि सोही पार्टीका उम्मेदवार विजयी भएका हुन् ।








