६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

अल्बानियामा मंगलबारको भूकम्पबाट ३५ जनाको मृत्यु भएको पुष्टि, उद्धार जारी



तिराना– पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् ।

अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ ।

मङ्गलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए ।

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए । उनले भूकम्पका कारण ६ सय ५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए ।

रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरेका छन् ।

अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ ।

अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १२ : ०६ बजे