काठमाडौं– कांग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षबीचको विवाद समाधानका लागि गठन गरेको वार्ता टोलीबीच छलफल भएको छ ।
सोमबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेस नेताहरुबीच छलफल भएको हो ।
कांग्रेसले विवाद समाधानका लागि वार्ता गर्न सभापति देउवा पक्षले उपसभापति विमलेन्द्र निधिलाई र बरिष्ठ नेता पौडेल पक्षले सिंहलाई जिम्मा दिएका छन् ।
छलफलमा उपसभापति निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु सहभागी थिए ।
देउवा र पौडेल पक्षबीच महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व, विभाग गठनलगायतका विषयमा विवाद छ । विवाद चर्किएपछि मंसिर २६ गते पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए । आइतबारको बैठकमा पनि पाैडेल पक्षका नेताहरु सहभागी भएका थिएनन् ।
४ वर्षे कार्यकाल पूरा हुन तीन महिना मात्र बाँकी रहेका बेला सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएर उल्टै विभागहरु थप्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट छन् ।
सोमबारको छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् ।