१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

देवानगञ्ज झडप : सामान्य विवाददेखि गोली चल्नेसम्म, एकको मृत्यु, २४ घाइते



सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन् । घटनापछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गर्नुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेको छ ।

प्रारम्भिक जानकारीअनुसार आइतबार राति करिब १० बजे एक समुदाय कोशी ब्यारेजबाट डिजे बजाउँदै र नाचगान गर्दै देवानगञ्ज–३ कप्तानगञ्ज चोकतर्फ जाँदै थियो। डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले आपत्ति जनाएपछि भनाभन सुरु भएको थियो। केहीबेरमै विवाद दुई समूहबीचको झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्लाबाट थप प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि भीड थप आक्रामक बन्दै गएको थियो।

प्रहरीका अनुसार झडपका क्रममा केही व्यक्तिले ढुंगा, लाठी, बाँस, चिर्पट र भालाजस्ता सामग्री प्रयोग गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरी घाइते भएपछि स्थिति नियन्त्रणमा लिन सुरुमा लाठीचार्ज, त्यसपछि अश्रुग्यास र हवाई फायर गरिएको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।

गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा अन्य नौ जना गोली लागेर घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशलाई कम्मरमाथि गोली लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ। चिकित्सकका अनुसार जयप्रकाश मेहता र रवीन्द्र मेहताको अवस्था गम्भीर छ भने अन्य घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ।

झडपपछि देवानगञ्ज क्षेत्र तनावग्रस्त बनेको थियो। केही पसल तथा तीन वटा मोटरसाइकलमा आगजनी र तोडफोड गरिएको थियो। सोमबार बिहानदेखि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। दिउँसोदेखि नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गर्दै सुरक्षा निगरानी कडा बनाएको छ।

घटनापछि स्थानीय प्रशासनले सर्वदलीय बैठक आयोजना गरी दुवै समुदायका अगुवा तथा स्थानीयसँग संवाद सुरु गरेको छ। प्रशासनले सामाजिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न र संयमता अपनाउन सबै पक्षसँग अपिल गरेको छ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यसैबीच गृह मन्त्रालयले घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका केही प्रमुख अधिकारीलाई फिर्ता बोलाएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबे तथा सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि सरुवा गर्दै नयाँ अधिकारीहरू खटाइएको छ।

देवानगञ्ज–कप्तानगञ्ज क्षेत्र साम्प्रदायिक रूपमा संवेदनशील मानिने क्षेत्र हो। खुला सीमाका कारण सुरक्षा चुनौती रहने यस क्षेत्रमा यसअघि पनि दुई समुदायबीच विवाद भएका भए पनि सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था भने पहिलो पटक सिर्जना भएको बताइएको छ। घटनाको वास्तविक कारण र सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको अवस्थाबारे निष्कर्ष छानबिन समितिको प्रतिवेदनपछि मात्र स्पष्ट हुने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ४० बजे