टिपरले किचेर आमाछोरीको मृत्युपछि पनौतीमा कर्फ्यु

२०७६ चैत्र ४, मंगलवार १०:३१

काभ्रे — टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ ।

सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

सोमबार पनौतीमा बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो।

आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसँग तनावको स्थिति बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो। गोलीको छर्रा लागेर प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए। छर्रा कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार