– ल्हाक्पा गेलु शेर्पा
आजभन्दा २५७० वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले मानव जीवनका गहिरा प्रश्नहरूसँग साक्षात्कार गर्नुभयो । सुविधा, वैभव र सुरक्षाभित्र हुर्किएको जीवनले उहाँलाई सन्तुष्ट बनाउन सकेन । जब उहाँले बाहिरको यथार्थ बुढ्यौली, रोग र मृत्यु देख्नुभयो, त्यसले उहाँको चेतनामा गहिरो कम्पन ल्यायो । जीवनका अनिवार्य सत्यहरूसँग प्रत्यक्ष भेट भएपछि उहाँले सुखको बाहिरी आवरणभन्दा गहिरो अर्थ खोज्न थाल्नुभयो। अन्ततः भारतको बोधगयामा बोधिवृक्षमुनि गहिरो ध्यानमार्फत उहाँले बोधि प्राप्त गर्नुभयो र बुद्ध ‘जागृत व्यक्ति’ बन्नुभयो। उहाँले पत्ता लगाउनुभएको सत्य कुनै धर्म, सम्प्रदाय वा सीमित आस्थामा आधारित थिएन; त्यो प्रत्यक्ष अनुभव, अवलोकन र मनको बोधबाट जन्मिएको सार्वभौमिक ज्ञान थियो ।
यसैले बुद्धको शिक्षा कुनै एक धर्मसँग सम्बन्धित शिक्षा मात्र होइन; यो जीवनको गहिरो अध्ययन हो । मानव मन, पीडा र मुक्ति बीचको सम्बन्ध बुझ्ने एक प्रकारको आन्तरिक विज्ञान हो । बुद्धले भन्नुभएको छ, “मेरो वचनलाई अन्धविश्वासका आधारमा स्वीकार नगर; जाँच, विचार र अनुभव गरेर मात्र स्वीकार गर ।” यही कारणले बुद्धको दर्शन आजको वैज्ञानिक युगमा पनि सान्दर्भिक छ । यसले कारण र परिणाम, अनुभव र परिवर्तनबीचको स्पष्ट सम्बन्ध देखाउँछ ।
आजको संसार प्रविधिले बदलिएको छ। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताले मानव जीवनलाई अभूतपूर्व सुविधा दिएका छन् । सामाजिक सञ्जालहरूले मानिसलाई विश्वव्यापी रूपमा जोडिदिएका छन्। तर यहीं अर्को यथार्थ पनि देखिन्छ, मानिस पहिलेभन्दा धेरै अस्थिर, चिन्तित र मानसिक रूपमा थकित छ । बाहिरको सम्पर्क बढेको छ, तर भित्रको सम्बन्ध टुट्दै गएको छ । सामाजिक सञ्जालमा जीवन प्रदर्शन हुन्छ, तर वास्तविक अनुभूति हराउँदै जान्छ । तुलना र मान्यता प्राप्त गर्ने चाहनाले मानिसलाई निरन्तर मानसिक दबाबमा राख्छ । यही सन्दर्भमा बुद्धको शिक्षा केवल आध्यात्मिक विकल्प होइन; जीवनको आवश्यक सन्तुलनको आधार बन्छ ।
पञ्चशील बुद्ध शिक्षाको नैतिक आधार हो, जसले समाजलाई स्थिर र शान्त बनाउने आधार तयार गर्छ । प्राणी हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, असत्य नबोल्नु र मादक अथवा नशाजन्य पदार्थबाट टाढा रहनु- यी पाँच नियमहरू व्यक्तिगत जीवनका मात्र होइनन्, सामाजिक सन्तुलनका आधार पनि हुन् । आजको हिंसा र युद्धको सन्दर्भमा अहिंसा अत्यन्त सान्दर्भिक छ । अहिंसा केवल हत्या नगर्नु मात्र होइन; यो विचार, शब्द र व्यवहारमा पनि लागू हुन्छ । सामाजिक सञ्जालमा घृणा फैलाउनु पनि हिंसाकै रूप हो । झूटो सूचना, भ्रम र घृणात्मक अभिव्यक्तिको युगमा सत्य बोल्ने अभ्यास अझ महत्वपूर्ण बनेको छ । यदि पञ्चशीललाई समाजले गहिरो रूपमा अपनाउन सके, धेरै द्वन्द्व स्वतः कम हुन सक्छन् ।
बुद्ध दर्शनको मूल आधार चार आर्य सत्य हुन् । पहिलो सत्य दुःख हो । बुद्धले भन्नुभएको छ, जन्म दुःख हो, बुढ्यौली दुःख हो, रोग दुःख हो, मृत्यु दुःख हो । आजको युगमा यो दुःख अझ सूक्ष्म रूपमा असन्तोष, असुरक्षा, चिन्ता र एक्लोपनका रूपमा देखिन्छ। मानिससँग सुविधा छ, तर शान्ति छैन । दोस्रो सत्य दुःखको कारण हो, जुन तृष्णा हो । अझ धेरै पाउने, अझ सफल हुने, अझ टिकिरहने चाहनाले मनलाई बाँध्छ । बुद्धले भन्नुभएको छ, तृष्णाबाट दुःख उत्पन्न हुन्छ । तेस्रो सत्यले देखाउँछ कि दुःखको अन्त सम्भव छ । चौथो सत्यले त्यसको मार्ग देखाउँछ, आर्य अष्टाङ्गिक मार्ग, जसले जीवनलाई सन्तुलित, सचेत र मुक्त बनाउने बाटो देखाउँछ ।
आर्य अष्टाङ्गिक मार्ग मध्यम मार्गको व्यावहारिक र जीवन्त रूप हो, जसले जीवनलाई सन्तुलित, सचेत र रूपान्तरित बनाउने सम्पूर्ण अभ्यास प्रस्तुत गर्छ । यस मार्गको सुरुवात सम्यक दृष्टिबाट हुन्छ, जसले मानिसलाई यथार्थलाई जस्तो छ त्यस्तै बुझ्न सिकाउँछ । जहाँ जीवन अनित्य छ, दुःख छ र सबै कुरा कारण र परिस्थितिमा आधारित छन् भन्ने गहिरो बोध विकास हुन्छ । आजको युगमा, जहाँ भ्रम, अधूरो जानकारी र बाहिरी आकर्षणले मानिसलाई सजिलै प्रभावित बनाउँछ, सम्यक दृष्टिले सत्य र भ्रमबीचको अन्तर छुट्याउन सहयोग गर्छ । यससँगै सम्यक संकल्पले करुणा, अहिंसा र लोभबाट मुक्त सोचको विकास गर्छ, जसले मानिसको भित्री जगतलाई शुद्ध बनाउँदै व्यवहारलाई पनि रूपान्तरित गर्छ । सम्यक वाणीले सत्य, मधुर र हितकारी अभिव्यक्तिको अभ्यास गराउँछ, किनकि शब्दहरू केवल अभिव्यक्ति मात्र नभई सम्बन्ध निर्माण गर्ने शक्तिशाली माध्यम पनि हुन् । सम्यक कर्मले जीवनलाई नैतिक आधारमा उभ्याउँछ र सम्यक आजीविकाले जीवनयापनलाई जिम्मेवार र मानवतामूलक दिशातर्फ डोर्याउँछ, जसले समाजमा विश्वास र सन्तुलन निर्माण गर्न मद्दत गर्छ ।
यससँगै सम्यक प्रयासले निरन्तर आत्मपरिवर्तनको ऊर्जा प्रदान गर्छ, जसले नकारात्मक प्रवृत्तिहरूलाई हटाउँदै सकारात्मक गुणहरू विकास गर्न प्रेरित गर्छ । सम्यक स्मृतिले मानिसलाई वर्तमान क्षणमा पूर्ण रूपमा जागरूक हुन सिकाउँछ, जहाँ जीवन वास्तवमा घटिरहेको हुन्छ, र यसले विगतको पछुतो तथा भविष्यको चिन्ताबाट मुक्त गराउँछ । सम्यक समाधिले मनलाई स्थिर, गहिरो र एकाग्र बनाउँछ, जसबाट गहिरो प्रज्ञा र आन्तरिक शान्ति उत्पन्न हुन्छ। बुद्धले भन्नुभएको छ, मन नै सबै कुराको अगुवा हो, र जब मन परिवर्तन हुन्छ, संसार पनि क्रमशः परिवर्तन हुन थाल्छ । त्यसैले आर्य अष्टाङ्गिक मार्ग केवल व्यक्तिगत साधना मात्र होइन; यदि यसलाई समाजले गहिरो रूपमा बुझेर अपनाउन सकेमा यो सामूहिक जीवनको आधार बनेर नैतिक, करुणामय र सचेत समाज निर्माण गर्ने शक्तिशाली मार्ग बन्न सक्छ ।
यस मार्गलाई गहिरो रूपमा बुझ्दा बुद्धको मध्यम मार्गको सार प्रकट हुन्छ । मध्यम मार्ग भन्नाले दुई चरम अवस्थाबीचको सन्तुलन मात्र होइन, जीवनलाई समग्र रूपमा बुझ्ने एक परिपक्व दृष्टि हो । बुद्धले आफ्नो अनुभवबाट देख्नुभयो कि अत्यधिक भोगविलासले मनलाई बाँध्छ र अत्यधिक कठोर तपस्याले शरीर र चेतनालाई कमजोर बनाउँछ । दुवै चरम अवस्थाले सत्यको बोधमा पुग्न सहयोग गर्दैनन् । त्यसैले उहाँले भन्नुभयो, न त अति भोगमा शान्ति छ, न त अति कष्टमा; सन्तुलनमै मार्ग छ । मध्यम मार्ग भनेको जीवनबाट भाग्नु होइन, जीवनलाई सचेत रूपमा बाँच्नु हो ।
बुद्ध शिक्षालाई अझ संक्षेपमा बुझ्दा यसको सम्पूर्ण मार्ग शील, समाधि र प्रज्ञामा समेटिन्छ । शीलले मानिसको आचरणलाई शुद्ध, संयमित र जिम्मेवार बनाउँछ । समाधिले मनलाई स्थिर, एकाग्र र शान्त बनाउँछ । प्रज्ञाले यथार्थलाई गहिरो रूपमा देख्ने क्षमता दिन्छ । शील बिना समाधि स्थिर हुँदैन, समाधि बिना प्रज्ञा गहिरो हुँदैन, र प्रज्ञा बिना मुक्ति सम्भव हुँदैन । त्यसैले बुद्धको मार्ग केवल विश्वासको मार्ग होइन; आचरण, ध्यान र बोधको क्रमिक साधना हो ।
बुद्धको अर्को गहिरो सिद्धान्त प्रतीत्यसमुत्पाद हो, जसले भन्छ, सबै कुरा कारण र परिस्थितिको आधारमा उत्पन्न हुन्छ । “यो भए त्यो हुन्छ, यो नभए त्यो हुँदैन” भन्ने बुद्ध वचनले यही कुरा स्पष्ट गर्छ । कुनै पनि घटना स्वतन्त्र रूपमा उत्पन्न हुँदैन । दुःख पनि कारणबाट जन्मिन्छ, र यदि कारण हटाइयो भने दुःख पनि समाप्त हुन्छ । यही बुझाइले जिम्मेवारी र करुणा दुवै जन्माउँछ ।
त्यस्तै, अनित्य बुद्ध दर्शनको अर्को आधारभूत सत्य हो । सबै संयोगी वस्तु अनित्य छन् । संसारमा केही पनि स्थायी छैन । सुख, दुःख, सम्बन्ध र अवस्था, सबै परिवर्तनशील छन् । अनित्यको बोधले मानिसलाई स्वीकार गर्न, छोड्न र वर्तमानमा बाँच्न सिकाउँछ ।
यससँगै बुद्धको शिक्षा शून्यताको गहिरो अवधारणासम्म पुग्छ । शून्यता भन्नाले ‘केही पनि छैन’ भन्ने होइन; बरु कुनै पनि वस्तु स्वतन्त्र र स्थायी रूपमा अस्तित्वमा छैन भन्ने बुझाइ हो । सबै कुरा सम्बन्ध, कारण र परिवर्तनमा आधारित छन् । यही बुझाइले आसक्ति कम गर्छ र करुणा जन्माउँछ ।
यस सम्पूर्ण शिक्षाको केन्द्रमा राग, द्वेष र मोह रहेका छन्, दुःखका मूल जरा । राग अर्थात् आसक्ति र लोभ; द्वेष अर्थात् घृणा र क्रोध; र मोह अर्थात् अज्ञानता र भ्रम । जब यी तीन कम हुन्छन्, मन स्वतः शान्त र प्रज्ञामय बन्छ । यहीँबाट साँचो स्वतन्त्रता सुरु हुन्छ ।
अन्ततः बुद्धको शिक्षा कुनै सीमित धार्मिक प्रणाली होइन; यो जीवनको गहिरो विज्ञान हो । आजको युगमा, जहाँ बाहिरी प्रगति तीव्र छ, भित्री चेतनाको विकास अझ आवश्यक भएको छ । यदि मानिसले बुद्धका यी शिक्षालाई करुणा, प्रज्ञा, सजगता र सन्तुलनका रूपमा जीवनमा उतार्न सके, संसार भित्र र बाहिर दुवैबाट रूपान्तरित हुन सक्छ ।









