२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो, ३५ को सनाखत



आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले सोमबार विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिएका हुन् ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

६८ शव फेला, ३५ जनाको सनाखत

यसैबीच विमान दुर्घटनामा परेको ६८ जनाको शव भेटिएको ३५ जनाको सनाखत भएको बताइएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो ।

हराइरहेका ४ जनाको खोजी जारी छ । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।

कास्की प्रहरीका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । काठमाडौंबाट फरेन्सिक विशेषज्ञलाई पोखरा लगिएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएका छन् । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ४७ बजे