८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

कानुन मन्त्री धनराजको प्रस्ताव: निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरौँ



नेपाली कांग्रेसका उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीहरूसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिबाट पारित हुनुपर्ने बताएका हुन् ।

महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी उनले गरे । क्रोनी क्यापिटालिजमका कारण नेताहरू व्यापारीजस्ता र व्यापारीहरू नेताजस्ता देखिएका पनि बताए ।

महासमिति बैठक क्रोनी क्यापिटालिजमविरुद्ध एक ठाउँमा उभिनुपर्ने उनको मत छ । भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको बताउँदै उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता नहट्ने पनि प्रष्ट पारे ।

उपसभापति गुरुङले पार्टीको सङ्गठनात्मक संरचनाबारे महासमिति बैठकले निर्णय गर्नुपर्ने पनि बताए । यसअघि केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई महासमिति बैठकले सच्याउन सक्ने पनि गुरुङले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : १५ बजे