८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

गुन्द्रुकलाई पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त



हेटौंडा उपमहानगरपालिकाको सहयोगमा घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी गुणस्तर मान्यता प्राप्त गरेको छ ।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी बजारमा बिक्रीका लागि बाटो खुलेको बताइएको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिइएको उपमहानगर उद्योग शाखाले जनाएको छ ।

उपमहानगरको १ लाख रुपैयाँ लगानीबाट अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा निकै खुशी भएको उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् । अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् ।

उपमहानगरले सहयोगमा समूहमा १२ जना मिलेर काम गर्न सुरु गरेको उनले बताइन् । गत असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुक उत्पादन थालेको थियो । उद्योग शाखाको तथ्याङ्क अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएको थियो । जसमा २६८ जना उद्यममा जोडिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ३६ बजे