९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

लेखा समिति सभापति पोखरेललाई श्रीमती पछि स्वकीय सचिवको पनि लफडा



सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई अर्को एउटा लफडा आइ लागेको छ । सहकारी ठगीमा श्रीमती अञ्जना कोइरालाबिरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रश्न उठिरहेको बेला स्वकीय सचिव पनि ठगी संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी भएको छ ।

ठगीमा संलग्न भएको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई उनले शुक्रबार हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएको स्वीकार गरे ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल कायमै थिए ।

शुक्रबार सञ्चार माध्यमहरुले उक्त समाचार प्रकाशित गरेपछि उनले अनिललाई हटाउका हुनु । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

भष्ट्राचारजन्य क्रियाकलापमा संलग्न जो कोहिमाथि पनि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले पत्रमा लेखेका छन् ।

‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएको पनि आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङले चौधरीको जाहेरी लिन नमानेपछि उच्च अदालत बिराटनगर पुगेका चौधरीको निवेदनमा अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

अनिलकुमार एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत हुन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ३५ बजे