१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

न्यूयोर्क सिटीमा लोसार पर्वका लागि पार्किङ निलम्बन: सांस्कृतिक सम्मानको ऐतिहासिक विजय



लाक्पा गेलु शेर्पा
न्यूयोर्क सिटीको सिटी हलमा ऐतिहासिक क्षण देखियो। हिमाली समुदायका परम्परागत पोशाकमा सजिएका मानिसहरूले सिटी हलको वातावरणलाई सांस्कृतिक रंगले रंगाएका थिए। तिब्बत, भुटान, र नेपालका झण्डाहरूले समुदायको पहिचान र गर्व झल्काएका थिए।

यस दिन सिटी काउन्सिलले काउन्सिल सदस्य जुली वोनद्वारा प्रस्तावित इन्ट्रो १०० विधेयकलाई बहुमतले पारित गर्‍यो। यो विधेयकले हिमाली समुदायका लागि विशेष महत्व राख्ने लोसार पर्वको दिन वैकल्पिक साइड पार्किङ निलम्बन गर्ने प्रावधान गरेको छ। यस निर्णयले लोसार पर्व मनाउने समुदायलाई सहजता प्रदान गर्नेछ।

फेब्रुअरी ८, २०२४ मा जुली वोनले प्रस्तुत गरेको विधेयक न्यूयोर्क सिटीमा बसोबास गर्दै आएका लाखौं बौद्ध धर्मावलम्बी र लोसार पर्व मनाउने समुदायको पक्षमा आवाज थियो। अन्ततः, जनवरी २३, २०२५ मा ३८ सिटी काउन्सिल सदस्यहरूले यसलाई समर्थन गरे।

विधेयक पारित भएलगत्तै, सिटी हल प्राङ्गणमा विशेष समारोह आयोजना गरियो। काउन्सिल सदस्य जुली वोन, शेखर कृष्णन, मर्सिडिज नर्सिसे, लिन्ड ली, र यातायात विभाग प्रमुख सेलबेन ब्रूक्सले आफ्ना धारणा राख्दै समुदायको सांस्कृतिक योगदानको सराहना गरे।

समारोहमा हिमाली समुदायका अगुवाहरू जस्तै गेसे टाशी दोर्जे, नुर्बु चोएजुङ, साङ दोर्जे शेर्पा, ओम गुरुङ, उल्लब लेकी, र दाल्हामु शेर्पाले सम्बोधन गरे।

काउन्सिल सदस्य जुली वोनले भनिन्, “यो निर्णय केवल पार्किङ निलम्बनको कुरा होइन। यो समुदायको पहिचान र सम्मानको प्रतीक हो। न्यूयोर्क सिटीको समृद्धि यसको विविध समुदायहरूको योगदानबाट सम्भव भएको हो।”

यो निर्णयले हिमाली समुदायका नेता र अभियन्ताहरूको लामो समयदेखिको प्रयासलाई फल दिन सफल बनाएको छ। सामाजिक अभियन्ता उर्गेन शेर्पा, छेमाङ लामा, र निक गुल्ताले यस लक्ष्य प्राप्तिमा विशेष भूमिका खेले।

“यो हाम्रो सांस्कृतिक अस्तित्व र पहिचानको विजय हो,” छेमाङ लामाले भने।

लोसार पर्वको औपचारिक मान्यता र पार्किङ निलम्बनको व्यवस्था न्यूयोर्क सिटीको सांस्कृतिक विविधता र समावेशी नीतिप्रति देखिएको सम्मानको प्रतीक हो। यो निर्णयले हिमाली समुदायलाई आफ्ना परम्पराहरू जोगाउँदै आधुनिक जीवनशैलीसँग सामञ्जस्य गर्न सहयोग पुर्‍याउनेछ।

समुदायका प्रतिनिधिहरूले यो दिनलाई सांस्कृतिक पहिचान र सम्मानको ऐतिहासिक क्षणका रूपमा स्मरण गरे।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : ४३ बजे