५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

फिप्नाले मनायो १४८औं लखन थापा स्मृति दिवस



आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को आयोजनामा नेपालका प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोबल किशोर साह सुडीको प्रमुख आतिथ्यमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको कार्यक्रमा विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र संविधानसभा सदस्य कमला बिक उपस्थिति थिए । फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस बिगतदेखि मनाउँदै आईरहेको छ ।

प्रथम शहिद लखन थापाको तस्वीरमा माल्यापर्ण तथा दीप प्रज्ववलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिति साह सुडीले थापाको योगदानको कदर गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले जनजाति, दलित, मधेशीले आफ्नो अधिकार स्थापित गर्नका लागि एक जुट भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए ।

कार्यक्रममा विशेष अथिति सुशीला श्रेष्ठले प्रथम शहिद थापाको मार्गदर्शन र त्यागको सम्मान गर्दै हाल नेपालको समसामयिक राजनीतिक बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिइन् । आफ्नो धारणा राख्ने क्रममा उनले लिम्बु जातिको संस्कृति सम्पदा मुकुम्लुङमा सरकारलाई अनाश्वयक हस्तक्षेप नगर्न चेतावनी पनि दिईन् । सरकारले यसरी जबरजस्ती केबलकार निर्माण गरिए दीर्घकालिन सञ्चालन नहुने र भविष्यमा हुने क्षति अकल्पनीय हुने उनीले बताइन् ।

प्रतिनिधिसभा सदस्य कमला विश्वकर्माले पनि कार्यक्रममा बोल्दै सहिद थापालाई वर्षमा एकदिन नसम्झी उनको नाममा स्वास्थ्य संस्था तथा शैक्षिक संस्था स्थापना गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

स्मृति दिवसमा फिप्ना संघीय परिषद्को उपसभामुख निमा गोले तामाङ, सामाजिक अभियान्ताहरु केशबराम राई, समीर महर्जन, शेर्पा किदुङका अध्यक्ष तेम्बा शेर्पा, कलाकार संघकी अध्यक्ष बसन्ती राईले पनि मन्तव्य राखेका थिए ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव दीपक चौधरीले सञ्चालन गरेका थिए भने उक्त अवसरमा संस्थाका सचिव शान्ति गुरुङ, कोषाध्यक्ष कृष्णमाया महार्जन र महासंघको सल्लाहकार कुलदीप रानामगर लगायत नेपाली डायस्पोराको सामाजिक ब्यक्तिहरू पनि उपस्थिति थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ११ : २० बजे