९ कार्तिक २०८२, शनिबार | Sun Oct 26 2025

इरान र इजरायलबीच युद्धविरामको घोषणा, क्षेत्रीय तनाव घट्ने अपेक्षा



इरान र इजरायलबीच विगत १२ दिनदेखि चलिरहेको सैन्य तनाव अन्त्य गर्न युद्धविरामको सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरान र इजरायल युद्धविराममा सहमत भएको घोषणा गरेका छन् । युद्धविरामको यो कदमले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।

इरान र इजरायलबीच जुन १३, २०२५ देखि सुरु भएको सैन्य द्वन्द्वमा दुवै पक्षले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरेका थिए । इजरायलले इरानको आणविक केन्द्र र सैन्य ठेगानाहरुमा आक्रमण गरेको थियो भने इरानले आफ्नो शक्तिशाली बैलिस्टिक मिसाइल ‘खोर्रमशहर-४’ प्रयोग गरी इजरायलका तेल अवीव र हाइफा शहरमा आक्रमण गरेको थियो, जसले ठूलो क्षति पुर्‍याएको थियो । यसैबीच गत शनिबार अमेरिकाले इरानको फोर्डो, इस्फहान र नातान्जस्थित आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो, यसले इजरायल र इरानबीचको युद्धमा नयाँ मोड ल्याउको छ ।

युद्धविरामका लागि दुवै पक्षले आ–आफ्नो तर्पबाट सहमति जनाएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले मंगलबार बिहान इजरायलले हवाई आक्रमण रोकेमा इरानले पनि आफ्ना आक्रमणहरू तत्काल बन्द गर्ने बताएका थिए । युद्धविरामको यो सहमतिमा अमेरिकाको मध्यस्थता निर्णायक रहेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखे, “सबैलाई बधाई! इजरायल र इरानबीच युद्धविराममा पूर्ण सहमति भएको छ ।”

यद्यपि, विश्लेषकहरूले युद्धविरामको स्थायित्वमाथि प्रश्न उठाएका छन् । इजरायलका लागि यो युद्धविराम अप्रत्याशित नभएको इजरायली विश्लेषक कोब्बी शोशनीले बताएका छन् । उनले इरानको हालको आक्रमणलाई “अत्यन्त क्रूर” भन्दै युद्धविरामले दीर्घकालीन शान्ति सुनिश्चित गर्न कठिन हुने संकेत गरे ।

यो युद्धविरामले मध्यपूर्वमा शान्तिको सम्भावनालाई बल दिएको छ, तर क्षेत्रीय तनाव पूर्ण रूपमा हट्नेमा आशंका कायम छ । अमेरिकाले इरानी आणविक केन्द्रहरुमा आक्रमण गरेको र त्यसको जवाफमा इरानले कतारमा रहेको अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गरेको पृष्ठभूमिमा युद्धविरामको कार्यान्वयन जटिल हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ०८ बजे