१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

रसुवामा बाढी: ५५ जनाको सकुशल उद्धार, १८ अझै बेपत्ता, हिमताल फुटेको आशंका



रसुवामा मंगलबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीमा फसेका ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गरिएको उद्धारमा ५१ पुरुष र ४ महिला छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रसुवागढी भन्सार यार्डमा कार्यरत ९ नेपाली र ६ चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन् । साथै, इलाका प्रहरी कार्यालय टिमुरेमा खटिएका ३ जना प्रहरी कर्मचारी पनि बेपत्ता छन् ।

बेपत्ता हुनेहरुमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, रामेछाप, प्रहरी जवानहरु मुन्ना ठाकुर, बारा, लोकेन्द्र बोहोरा, बझाङ, त्यसैगरी सर्वसाधारणमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु र सुरेश थारु रहेका छन् । त्यस्तै नरेन्द्र विक–बागलुङ, कन्टेनर चालक फुर्वा लामा, सिन्धुपाल्चोक, मिक्सचर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ता छन् । बेपत्ता चिनियाँहरुमा यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ रहेका छन् ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवागढीमा करिब १०० गाडी बगाएको र त्रिशूली नदीमा रहेको बेलीब्रिज पनि बगाएको पुष्टि भएको छ । भर्खरै निर्माण गरिएको पक्की पुलमा लेदो थुप्रिएको छ भने त्रिशूली थ्रिए जलविद्युत आयोजनाको बाँधमा पनि क्षति पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले बाढीको मूल कारण यकिन भइनसकेको बताएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार नेपाल–चीन सीमाक्षेत्र आसपासमा भारी वर्षा नभएको देखिएको छ । विश्व मौसम संगठनको फ्ल्यास फ्लड गाइडेन्स प्रणालीले पनि वर्षा नभएको देखाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन वा नेपालको क्षेत्रमा पर्ने कुनै हिमताल अचानक फुटेर बाढी आएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार आज बिहान ३ बजे तिर तिब्बतबाट अचानक ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको थियो । जलमापन केन्द्रहरूमा जलसतह एक्कासि ३.५ मिटरभन्दा बढीले बढेको देखिएको छ । रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागका विज्ञहरूका अनुसार आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना नरहेकाले ठूलो बाढीको तत्काल खतरा छैन । तथापि, सतर्कता भने आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ०५ बजे