४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

त्रिवि क्रिकेट मैदान स्तरोन्नति ढिलो हुँदा ठेकेदारलाई दैनिक दुई लाख हर्जना



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य ढिलो गरेपछि ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । प्यारापिट निर्माण र फ्लडलाइट जडानको जिम्मा लिएका कम्पनीहरूले तोकिएको मितिमा काम नसकाएपछि सम्झौताअनुसार दैनिक हर्जना तिराउने निर्णय भएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार सम्झौताअनुसार निर्माण कम्पनीले आयोजनाको कूल लागतको ०.०५ प्रतिशत बराबर दैनिक हर्जना तिर्नुपर्नेछ । सोहीअनुसार कम्पनीले दैनिक दुई लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति बुझाउनुपर्ने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए ।

प्यारापिट निर्माणको लागि बीकेओआई केसिडिसी बिजीको संयुक्त उपक्रम (जेभी) र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीसँग गत फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरिएको थियो । प्यारापिटको लागत ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानको लागत ४७ करोड ३७ लाख रुपैयाँ तय भएको हो ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठका अनुसार निर्माण कार्य समयमै सम्पन्न नभएपछि यही असार ३० गते कम्पनीलाई हर्जनाबारे जानकारी गराइएको थियो । कानुनअनुसार बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जनासम्म निर्माण कार्य गर्न पाइनेछ । त्यो अवधिमा पनि काम नसकिएमा कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।

निर्माण कम्पनीले अबको एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको बताइएको छ । प्यारापिटतर्फ हाल ६३ प्रतिशत वित्तीय प्रगति र ७७ प्रतिशत भौतिक प्रगति पुगेको छ भने फ्लडलाइटतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सरकारले ढिलाइमा कठोर कारबाहीको चेतावनीसहित काम छिटो सक्न दबाब दिइरहेको छ । क्रिकेटप्रेमीहरूका लागि त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने उद्देश्यले यो स्तरोन्नतिको काम अघि बढाइएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ७ : ४५ बजे