१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

साउन १ देखि श्रमिकले पाउने न्यूनतम तलब १९ हजार ५५०



आज साउन १ गतेदेखि नेपाली श्रमिकले न्यूनतम १९ हजार ५५० रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । सरकारले चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि नयाँ न्यूनतम तलब दर लागू गर्ने निर्णय गरेको हो ।

श्रम मन्त्रालयमा बिहीबार बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा सरकार, रोजगारदाता तथा ट्रेड युनियनबीच त्रिपक्षीय सहमति हुँदै पारिश्रमिक बढाउने निर्णय गरिएको हो । समितिको संयोजकत्व श्रम मन्त्रालयका उपसचिव प्रदीप कोइरालाले गरेका थिए।

नयाँ तलब दर अघिल्लो दुई वर्षदेखि लागू पारिश्रमिकभन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ तोकिएको थियो, जसमा आधारभूत तलब १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले त्रिपक्षीय सहमति ऐतिहासिक भएको बताउँदै औद्योगिक सम्बन्ध सुमधुर बनाउने दिशामा यो कदम महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार रातिसम्म रोजगारदाता र ट्रेड युनियनबीच सहमति हुन सकेको थिएन । रोजगारदाता १९ हजार ५ सयमै अडिएका थिए भने ट्रेड युनियनहरुको माग २१ हजार रुपैयाँ थियो । अन्ततः रोजगारदाताले थप ५० रुपैयाँ बढाउन सहमति जनाएपछि ट्रेड युनियन पनि सहमतिमा आएको हो । चियाबगानका श्रमिकका लागि भने अझै छलफल जारी रहेको र छुट्टै निर्णय हुने मन्त्रालयले जनाएको छ ।

श्रम ऐन–२०७४ अनुसार हरेक दुई आर्थिक वर्षमा न्यूनतम पारिश्रमिक पुनःनिर्धारण गर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको असार ३२ गतेसम्मको अवधि सकिएसँगै नयाँ दर साउन १ गतेदेखि लागू गरिने भएको हो ।

यस निर्णयसँगै श्रमिकको प्रति घण्टाको न्यूनतम ज्याला पनि संशोधित हुनेछ । हालको दरअनुसार श्रमिकले प्रतिघण्टा ८९ रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए, जसमा आधारभूत ज्याला ५६ र महँगी भत्ता ३३ रुपैयाँ थियो । आंशिक रूपमा काम गर्ने श्रमिकको न्यूनतम प्रतिघण्टा तलब ९५ रुपैयाँ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ९ : ०८ बजे