अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एनन्सिएशन क्याथोलिक स्कूलमा बुधबार बिहान भएको गोलीकाण्डमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश बालबालकाहरू रहेका छन् ।
मिनियापोलिस प्रहरी प्रमुख ब्रायन ओ’हाराका अनुसार, प्रि–केदेखि कक्षा ८ सम्मका विद्यार्थीहरू पहिलो हप्ताको कक्षा सुरुवातको अवसरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला बन्दुकधारीले बाहिरबाट चर्चको अन्धाधुन्ध गोली चलाएका थिए ।
मृतकमध्ये ८ र १० वर्षका बालबालिका रहेको प्रहरीले पुष्टि गरेको छ । घाइतेमध्ये १४ जना बालबालकाहरू रहेका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ र मिनियापोलिसस्थित हेनिपिन हेल्थकेयरमा उपचार भइरहेको छ । त्यसमध्ये चार जनाको शल्यक्रिया गरिएको चिकित्सकले जनाएका छन् ।
प्रहरीका अनुसार आक्रमणकारी करिब २० वर्ष उमेरको युवक थिए । उनी घटनास्थलमै मृत फेला परेका छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको भए पनि यसलाई “जानाजानी गरिएको हिंसात्मक कृत्य” भएको प्रहरीले बताएको छ ।
घटनाबारे अमेरिकी सिनेटर एमी क्लोबुचारले सीएनएनलाई जानकारी दिँदै आफ्नी पूर्वकर्मचारीकी छोरीले आफ्ना साथीहरू गोली लागेर लडेको देख्नुपरेको बताइन् । “एक बालिकाले आफ्ना नजिकका साथीहरूलाई गोली लाग्दा देखिन्, एकको घाँटीमा र अर्काको पेटमा गोली लाग्यो,” उनले भनिन् ।
प्रहरी प्रमुख ओ’हाराले यो गोलीकाण्डलाई “अकल्पनीय क्रूरता” भनेका छन् ।









