अविरल वर्षाको कारण यस वर्ष सबैभन्दा धेरै क्षती इलाममा भएको छ । गएराति आएको भीषण पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । यसअघि बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोका कारण माईजोगमाई, देउमाई, माङसेबुङ, सन्दकपुर, इलाम र माई नगरपालिका लगायतका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ ।
माईजोगमाई गाउँपालिका–६ का एकै परिवारका आठ जना २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङ्मी, ७० वर्षीया बुद्धमाया सोङ्मी, ४६ वर्षीय धनबल सोङ्मी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङ्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङ पनि पहिरोमा परी ज्यान गुमाएका छन् ।
देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको पनि मृत्यु भएको पुष्टि भएको छ।
माङसेबुङ गाउँपालिका–१ की ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ।
पहिरोमा परी इलाममा विभिन्न कामका सिलसिलामा आएका अन्य जिल्लाका नागरिकले पनि ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ३० वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू, मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई, र दोलखाका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेत रहेका छन्।
इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू अझै बेपत्ता रहेका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। सबैतिरबाट क्षतिको विवरण संकलन भइरहेकाले मृत्युको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध, विद्युत् र इन्टरनेट सेवा विच्छेदका कारण उद्धार र सूचना संकलनमा कठिनाइ भइरहेको छ।
अहिले पनि विभिन्न स्थानीय तहबाट क्षतिको विवरण संकलन भइरहेको र उद्धारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिरहेका छन् । इलाममा गएको राति आएको पहिरो पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो विपद् भएको स्थानीय प्रशासनले जनाएको छ।