हालको बाढी र पहिरोका घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल राहतस्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मृतकका परिवारलाई २ लाखका दरले सहयोग वितरण गर्न तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टका अनुसार बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्याएको इलाम जिल्लामा मात्रै तत्काल ७० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
‘इलाममा क्षति अत्यधिक भएकाले त्यहाँका पीडित परिवारका लागि तत्काल ७० लाख पठाइएको छ,’ भट्टले भने, ‘अन्य जिल्लामा भने जिल्ला विपद् कोषमा नै पर्याप्त रकम रहेकोले सोही स्रोतबाट राहत वितरण गर्न निर्देशन दिइएको छ।’
प्राधिकरणले उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएको छ।
‘प्राधिकरणको प्राथमिकता अहिले उद्धार र तत्काल राहतमा केन्द्रित छ,’ भट्टले भने, ‘सुरक्षा निकाय र स्थानीय प्रशासनसँग मिलेर हामी प्रभावकारी रूपमा विपद् व्यवस्थापनमा जुटिरहेका छौं।’
हाल देशका विभिन्न भागमा अविरल वर्षाका कारण बाढी र पहिरोबाट ठूला जनधनका क्षति भएका छन्। इलाम, पाँचथर, उदयपुर, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लामा उद्धार र राहत कार्य जारी छ।