निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ । आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमै सञ्चालन हुने भएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पहिलो हुने निर्वाचक प्रणाली (प्रत्यक्ष) अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ। राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुने कार्यक्रम कार्यतालिकामा उल्लेख छ ।
त्यस्तै, निर्वाचन प्रचारप्रसार फागुन ३ गतेदेखि १८ गतेसम्म गर्न सकिनेछ भने फागुन १८ गतेदेखि मौन अवधि लागू हुनेछ। आयोगका अनुसार मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन र त्यसपछि मतगणना सुरु गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते दलहरूले बन्दसूची (Closed List) पेश गर्ने कार्यक्रम तय गरिएको छ।
निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेसँगै आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी औपचारिक रूपमा प्रारम्भ भएको जनाएको छ।