असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण देशभरका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीपहिरोबाट क्षतिग्रस्त भएका हुन् ।
इप्पानले सोमबार दिउँसोसम्म संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार इलामका आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । इलाममा मात्र १५ जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन्। तीमध्ये ४.५ मेगावाटको माई खोला, ८ मेगावाटको माई खोला क्यासकेड, २२ मेगावाटको माई खोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना रहेका छन्।
इलामबाहेक कोशी प्रदेशकै पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्। लिखु ४ को उत्पादन एक घण्टाभन्दा केही बढी समयका लागि रोकिएको भए पनि अन्य सबै आयोजना अझै बन्द अवस्थामा छन्।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार यस वर्ष बाढीको पूर्वसूचना प्रणालीले मानवीय क्षति रोक्न सहयोग पुर्याएको छ। “विगतमा पूर्वसूचना नपाउँदा ठूला क्षति हुने गर्थ्यो, तर यस वर्ष जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा समयमै सूचना आदानप्रदान भएपछि मानव क्षति हुन पाएन,” उनले बताए।
बाढीपहिरोका कारण निर्माणाधीन जलविद्युत् आयोजनाका पहुँचमार्गमा ठूलो क्षति पुगेको छ। मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले निर्माण गरेको १२ किलोमिटर पहुँच सडकका धेरै स्थानमा पहिरो गएको छ ।
इलामको सिद्धिखोला (१० मेगावाट) जलविद्युत् आयोजना पनि बाढीका कारण क्षतिग्रस्त भएको छ। यो आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा थियो, तर बाढीले उक्त समयसीमा पर धकेलेको इप्पानले जनाएको छ।
पाँचथरको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामाग्री तथा उपकरण बाढीले बगाएको छ। त्यस्तै सिन्धुपाल्चोकमा रहेका ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी आयोजनाको पहुँचमार्गसमेत बाढीले नष्ट गरेको छ।
रसुवाको २० मेगावाटको लाङटाङ खोला, भोजपुरको १५.५ मेगावाटको इर्खुवा खोला बी र १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङको ६.८२ मेगावाटको हिडी खोला, रामेछापको ४८.८ मेगावाटको खिम्ति २ र धादिङको ४.५ मेगावाटको गसाली खोला आयोजनासमेत क्षतिग्रस्त भएका छन्।