२१ आश्विन २०८२, मंगलबार | Wed Oct 8 2025

बालेनको स्पष्टीकरण : “दमकललाई आन्दोलनकारीको अवरोध गरे”



भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गर्दा पनि काठमाडौँ महानगरको दमकल नपठाएको आरोप खेपिरहेका प्रमुख बालेन्द्र शाह (बालेन)ले घटनाबारे विस्तृत स्पष्टीकरण दिएका छन् ।

उनले मंगलबार फेसबुकमा भिडियोसहित एक लामो स्पष्टिकरण सार्वजनिक गर्दै आन्दोलनकारीको अवरोधका कारण दमकल सिंहदरबार पुग्न नसकेको दाबी गरेका छन् ।

उनका अनुसार सिंहदरबार जलेलगत्तै दमकल पठाउने प्रयास गरिएको थियो तर आन्दोलनकारीले बाटो रोकिदिँदा सम्भव नभएको र सिंहदरबारभित्रै रहेको सेनाको दमकल समेत परिचालन हुन नसकेको बताएका छन् ।

बालेनले लेखेका छन्, “सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन । नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन । कारण थियो, हुलले दमकललाई काम गर्न नदिएको । जब भिड अलिक शान्त हुनेबित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो ।”

बालेनमाथिका आरोप र प्रतिक्रियाहरू

सिंहदरबारमा आगलागी हुँदा काठमाडौँ महानगर निष्क्रिय रहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रश्न र आरोप उठिरहेका थिए,
“यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?”,
“तीन दिनसम्म जलेको हेरेर बस्यो?”
“सिंहदरबार जलाउने नै बालेन शाह हो!”

यी आरोपबारे उनले भनेका छन्, “यस्ता आरोपको स्पष्टीकरण दिनु आवश्यक नहोला, तर गलत जानकारी फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दै छु ।”

“त्यो दिन देश ठप्प थियो”

बालेनले भदौ २४ गतेको अवस्थालाई सम्झँदै भनेका छन्, “त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो । एक हिसाबले भनौँ, ‘राज्य’ नै ठप्प थियो । न सरकार थियो, न सुरक्षा संयन्त्र । तर पनि काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछि हटेको थिएन ।”

उनका अनुसार आगलागी नियन्त्रणदेखि घाइते उपचार, खाना र औषधि व्यवस्थापन, लास व्यवस्थापनसम्म महानगरका टोलीहरू जिउज्यानको जोखिम मोल्दै खटिएका थिए ।

दमकल परिचालनको विवरण

बालेनले महानगरका पाँचवटा दमकल निरन्तर सञ्चालनमा रहेको जनाएका छन्, महानगरसँगथ न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १ वटा दमकल छन् ।
उनका अनुसार १४ नगर प्रहरी र ३० सशस्त्र प्रहरीसहित ४४ जनाको टोली तीन सिफ्टमा खटिएको थिए ।

“५/२३ गतेदेखि ५/२८ गतेसम्म हाम्रो दमकल ५५ पटकभन्दा बढी विभिन्न स्थानमा पुगेको थियो,” उनले लेखेका छन् । उनले संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, बैंक, अस्पताल, होटल, भाटभटेनी गोदामदेखि डाटा सेन्टर र प्रहरी कार्यालयसम्म दमकलले आगो निभाएको विवरणसमेत दिएका छन् ।

स्वास्थ्य र उद्धारमा सक्रियता

बालेनका अनुसार संघीय सरकारले निर्णय गर्नुअघि नै महानगरले सबै अस्पतालसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था गरेको थियो । “उपचारका क्रममा अभिभावक नभएका बिरामीहरूको अभिभावक हाम्रो नगर प्रहरी बनेको थियो,” उनले लेखेका छन् । त्यस्तै, सहिद र घाइतेका परिवारको बसोबास, खाना, औषधि र लास व्यवस्थापनमा पनि महानगरको टोली खटिएको दाबी उनले गरेका छन्।

मिडियालाई आग्रह

अन्त्यमा उनले मिडिया र जनतालाई सत्यतथ्य बुझेर मात्रै निष्कर्ष निकाल्न आग्रह गर्दै लेखेका छन् । “बिना तथ्य निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनुहोला । यस्तो कार्यले जनतालाई भ्रममा पार्छ र खट्ने हाम्रो टिमको मनोबल गिराउँछ ।”

उनले थपे, “हामी कुनै आरोप र जिम्मेवारीबाट भाग्दैनौं । जनताको भरोसा र आपतकालीन व्यवस्थापनका लागि सधैं खटिरहनेछौं ।”

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ३७ बजे