अमेरिकी व्यवसायी तथा टेस्लाका संस्थापक एलन मस्कले बुधबार ५०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति नाघ्दै विश्वकै पहिलो व्यक्ति बनेका छन् । टेस्लाको शेयर मूल्यमा आएको सुधार र उनका अन्य प्रविधि कम्पनीहरूको मूल्याङ्कन बढ्नु यस उपलब्धिको प्रमुख कारण मानिएको छ ।
फोर्ब्सको बिलियनेयर सूचकांक अनुसार बुधबार मस्कको सम्पत्ति केही समयका लागि ५०० अर्ब डलर पुगेको थियो भने साँझ ५ बजे (अमेरिकी समय) यसले ४९९.१ अर्बमा स्थिर भएको छ ।
यो उपलब्धि उनले ४०० अर्ब डलर पार गरेको करिब एक वर्षमै हासिल गरेका हुन्, जसले उनलाई विश्वकै धनी व्यक्ति बनाइरहेको स्थान अझ सुदृढ बनाएको छ ।
मस्कको सम्पत्ति टेस्लामा उनको करिब १२ प्रतिशत हिस्सेदारीसँग प्रत्यक्षरूपमा जोडिएको छ । संसारकै सबैभन्दा मूल्यवान् अटोमोबाइल कम्पनी बनेको टेस्लाको शेयर मूल्य यस वर्ष करिब १४ प्रतिशतले बढेको छ ।
गत महिनामात्र मस्कले करिब १ अर्ब डलर मूल्यका टेस्ला शेयर खरिद गरेका थिए, जसलाई कम्पनीमा पुनःविश्वासको सङ्केतका रूपमा हेरिएको छ । टेस्ला हाल केवल विद्युतीय गाडी कम्पनी नभई कृत्रिम बुद्धिमत्ता (एआइ) र रोबोटिक्समा केन्द्रित बहुआयामी प्रविधि कम्पनीका रूपमा रूपान्तरण हुँदैछ ।
टेस्लाको सञ्चालक मण्डलले गत महिनामा मस्कका लागि १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति प्याकेज प्रस्ताव गरेको थियो । यो कुनै पनि कार्यकारी अधिकारीलाई प्रस्ताव गरिएको सबैभन्दा ठूलो क्षतिपूर्ति योजना हो ।
सेप्टेम्बर ५ मा सो योजना सार्वजनिक भएपछि टेस्लाको शेयर मूल्य ३५.७ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार यो योजनाले मस्कलाई टेस्लाको दीर्घकालीन वृद्धि र नवप्रवर्तनमा अझ केन्द्रित हुन प्रोत्साहित गर्नेछ ।
मस्कका विभिन्न कम्पनीहरूले अहिले विश्वका प्रमुख प्रविधि उद्योगहरूमा ठूलो प्रभाव जमाएका छन्, विद्युतीय गाडी, नवीकरणीय ऊर्जा, उपग्रह सञ्चार र कृत्रिम बुद्धिमत्तासम्म ।
उनको कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईले हालै २०० अर्ब डलर मूल्याङ्कनमा लगानी भित्र्याउने तयारी गरेको छ भने स्पेस एक्स कम्पनीको मूल्य ४०० अर्ब डलर पुगेको बताइन्छ ।
एक्सएआइले “कोलोअस” नामक विशाल सुपरकम्प्युटर निर्माण गर्दै आफ्नो गोर्क च्याटबोटलाई ओपन एआइको च्याटजीपीटी र गुगलको जेमिनाईसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने तयारी गरिरहेको छ ।
स्पेशएक्सले अन्तरिक्ष क्षेत्रमा आफ्नो नेतृत्व बलियो बनाएको छ । यसले स्टरलिंकमार्फत विश्वकै सबैभन्दा ठूलो उपग्रह नेटवर्क सञ्चालन गर्दै अमेरिकी सरकारका अधिकांश प्रक्षेपण सम्झौता प्राप्त गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा नियमित रूपमा उडान पठाउँछ र प्रतिस्पर्धी नेटवर्कहरूका लागि पनि उपग्रह पठाउने कार्य गर्छ ।
फोर्ब्सको अनुसार ओरकल कम्पनीका संस्थापक ल्यारि एलिसन मस्कपछि दोस्रो धनी व्यक्ति बनेका छन् । बुधबारसम्म एलिसनको कुल सम्पत्ति करिब ३५०.७ अर्ब डलर पुगेको छ ।