२ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025

‘जेनजी’ का नाममा धम्क्याउने अर्जुन शाही पक्राउ



विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीहरूलाई ‘जेनजी’को नाममा धम्क्याउँदै हिँडेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले शाहीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरीहरू परेको अभिलेखमा भेटिएको एसपी भट्टराईले बताए । यसअघिका उजुरीहरूका साथै पछिल्लो समयमा पनि उनले विभिन्न गैरकानुनी गतिविधिहरू गरेको पाइएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

शाहीसहितको समूहले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर पनि लफडा गरेको थियो भने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाई राजीनामा माग गरेका थिए ।

सार्वजनिक रूपमा ‘जेनजी’ का अगुवा भनिने शाहीमाथि वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ठगी गरेको र चेक बाउन्स लगायतका मुद्दाहरू यसअघि नै परेको प्रहरी अभिलेखमा उल्लेख छ ।

बुधबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कारबाही हुने र यस्ता गतिविधिहरू प्रहरीको निगरानीमा रहेको बताएका थिए ।

विगतमा, शाही तत्कालीन प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतलनिवासमा जेनजीको अगुवा बनेर पुगेका थिए र उनले सुशीला कार्कीसँगै सुदन गुरुङसहितका जेनजीसँग हात मिलाएका थिए । ठगीको आरोप लागेका शाही शीतल निवास प्रवेश गरेपछि थप हौसिएर विभिन्न कार्यालयका कर्मचारी धम्क्याउँदै हिँडेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ३८ बजे