अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध लोकतन्त्रमाथि खतरा बढेको भन्दै देशभरि ‘नो किङ्स’ नामक विशाल विरोध प्रदर्शन भएको छ ।
आयोजकहरूका अनुसार ५० वटै राज्यका २,७०० भन्दा बढी स्थानमा भएका प्रदर्शनमा करिब ७० लाख मानिस सहभागी भएका थिए । यो प्रदर्शन ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको सबैभन्दा ठूला जनप्रदर्शनमध्ये एक हो ।
प्रहरीका अनुसार, शिकागो, लस एन्जलस, न्युयोर्क सिटी र एटलान्टा लगायतका प्रमुख शहरहरूमा र्यालीहरू ठूलो संख्यामा भए पनि प्रायःजसो प्रदर्शन शान्तिपूर्ण रहेका छन् । धेरै ठूला शहरहरूमा प्रदर्शनसँग सम्बन्धित कुनै घटना वा गिरफ्तारी नभएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पका विभिन्न नीतिहरूमा आक्रोश व्यक्त गरेका छन् । ट्रम्पको ‘अधिनायकवादी’ एजेन्डाले अमेरिकी लोकतन्त्रलाई पछाडि धकेल्न खोजेको भन्दै नागरिकहरूले ‘हामीलाई राजा चाहिएको छैन’ भन्ने सन्देश दिएका छन् । विपक्षी डेमोक्र्याट र ह्वाइट हाउसबीच बजेट विधेयकमा गतिरोध कायम भई १८ औँ दिनसम्म सरकारी कामकाज बन्द हुँदा संघीय कर्मचारीहरू मारमा परेको भन्दै विरोध भएको छ ।
अध्यागमन तथा भन्सार प्रवर्तनको छापामारी र सीमामा सेना तैनाथ गर्ने नीतिको विरोधमा प्रदर्शनकारीहरूले नारा लगाएका थिए । मेडिकेड जस्ता संघीय कार्यक्रमहरू र स्वास्थ्य सेवामा भएको कटौतीले आम नागरिकको जीवनयापनमा असर पारेको भन्दै विरोध गरिएको छ ।
लस एन्जलस सिटी हल बाहिर ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले अमेरिकाको झण्डा, प्राइड फ्ल्याग र मेक्सिकन फ्ल्याग बोकेका थिए । कसै-कसैले सडकलाई ‘ब्लक पार्टी’ जस्तो बनाउन युनिकर्न र भ्यागुता जस्ता हावा भरिएका रंगीन पोशाकहरू लगाएका थिए । मेयर क्यारेन बासले पनि प्रदर्शन शान्तिपूर्ण रहेको बताउँदै ‘लोकतन्त्रलाई अधिनायकवादतर्फ जान नदिन’ प्रदर्शन आवश्यक रहेको बताएकी छन् ।
वासिङ्टन डीसीमा सरकारी सटडाउनका कारण जागिर गुमाएका वा विदामा बसेका वर्तमान र पूर्व संघीय कर्मचारीहरू पेन्सिलभेनिया एभिन्युमा भेला भएका थिए । उनीहरूले ‘लोकतन्त्र जोखिममा छ’ भन्ने प्लेकार्ड बोक्दै राजनीतिक संवादमा शान्ति कायम गर्न आग्रह गरेका थिए ।
न्युयोर्क सिटीको टाइम्स स्क्वायरमा सुरु भएको प्रदर्शन लोअर म्यानहटनसम्म फैलिएको थियो । एक प्रदर्शनकारीले ‘हामी अमेरिकालाई माया गर्छौँ, र हामी यसलाई फिर्ता चाहन्छौँ’ भन्ने सन्देशसहितको प्लेकार्ड बोकेकी थिइन् ।
जर्जियाको राजधानी एटलान्टामा प्रदर्शनकारीहरूले नागरिक अधिकार आन्दोलनको विरासतको सम्मान गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शन समग्रमा शान्तिपूर्ण रहे पनि केही छिटपुट घटनाहरू भएका छन् । दक्षिण क्यारोलिनाको मर्टल बिचमा एक ५९ वर्षीया महिलाले प्रदर्शन नजिकै सवारी चलाउँदै गर्दा बन्दुक देखाएको आरोपमा पक्राउ परेकी छन् । यस्तै, जर्जियाको मारिएटामा एक व्यक्तिले प्रदर्शनकारीको झण्डा चोरेर उनलाई धकेलेर लडाएको भिडिओ सार्वजनिक भएको छ ।
यस प्रदर्शनलाई रिपब्लिकन नेताहरूले भने ‘अमेरिकालाई घृणा गर्ने र्याली’ भन्दै आलोचना गरेका छन् भने राष्ट्रपति ट्रम्पले आफू ‘राजा नभएको’ बताउँदै आएका छन् ।








