९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

दुई प्रहरीको हत्यामा संलग्न चार जना थुनामा



काठमाडौँको महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्या आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको छ । काठमाडौँ प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको हत्यामा संलग्न चार जना कारागार चलान भएका हुन् ।

असई रायको हत्यामा दुई जना कारागार चलान

प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका होमप्रसाद पौडेल र उदयपुरका टिकाराम बिकलाई अदालतले आइतबार कारागार चलान गरेको छ।

होमप्रसाद पौडेल (६२, सिन्धुपाल्चोक) र टिकाराम बिक (२८, उदयपुर) लाई भिडिओ र फोटोको आधारमा प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा उनीहरू दुवैले असई रायको हत्या गरेको स्वीकार गरेका छन्।

पौडेलले २०५७ सालको संकटकालमा प्रहरीले आफूलाई माओवादी भन्दै बन्दुकले हानेर दाहिने आँखा फुटाइदिएका कारण त्यसैबेलादेखि प्रहरीसँग रिस रहेको र अहिले बदला लिएको बयान दिएका छन्। उनी पछिल्लो समय आफ्नै भतिजको किराना पसलमा ज्याला मजदुरी गर्थे।

बिकले पनि असई रायलाई लाठी, चिर्पटले हानी हत्या गरेर प्रहरीको ढाल तथा कार्टुनले छोपेर छाडेको स्वीकारेका छन्। प्रहरीका अनुसार बिकको प्रहरीको हतियार लुटपाटमा पनि संलग्नता देखिएको छ।

जवान थापाको हत्यामा दुई जनालाई थुनामा पठाउने आदेश

यसअघि प्रहरी जवान उत्तमसिंह थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई शुक्रबार थुनामा पठाउन आदेश भएको थियो ।

थापाको हत्या आरोपमा काभ्रेका युवराज क्याप्छाकी (२८) र मकवानपुरका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ (२१) पक्राउ परेका थिए। बिहीबार अदालतमा मुद्दा दर्ता भएको थियो भने शुक्रबार उनीहरूलाई थुनामा पठाउने आदेश भएको हो।

जवान थापा भदौ २४ गते सादा पोसाकमा ड्युटीमा खटिएका बेला जेनजी आन्दोलनकारीहरूले उनलाई क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। हत्यापछि उनको शव घिसारेर सडकमा फालिदिएको थियो।

आरोपितहरूले प्रहरीसमक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन् । मासु पसलमा डेलिभरीको काम गर्ने क्याप्छाकीले प्रहरी कार्यालय तोडफोड, आगजनी, हिरासतका थुनुवा भगाएको र विभिन्न हतियारले प्रहरीमाथि आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट सामान चोरी गरेको पनि पाइएको छ।

रेस्टुरेन्टमा कुकको काम गर्ने थिङले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको स्वीकारेका छन्। उनले प्रहरी कुटपिट गरेको भिडिओ आफैँले बनाएका थिए। उनीहरूले प्रहरीलाई महाराजगन्ज वृत्तभित्र थुनेर आगो समेत लगाएका थिए, जहाँबाट पछि नेपाली सेनाको हेलिकोप्टरबाट २२ प्रहरीको उद्धार गरिएको थियो।

सरकारी वकिल कार्यालयले आरोपितहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ कारबाही गरी जीवित रहेसम्म कैद सजाय माग गरेको छ। साथै, पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। अभियोग पत्रमा यो कसुरमा अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ परेका बखत पुनः पेस गरिने उल्लेख छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे