गृहमन्त्री ओमप्रकाश अर्यालले “पूर्वऊर्जामन्त्री दीपक खड्का विदेश फरार भएका छन्” भनेर गरेको दाबीको भोलिपल्टै खड्का सोमबार बिहान जेनजी आन्दोलनको क्रममा जलाइएका आफ्नै निवास बुढानीलकण्ठमा पत्रकारहरूसँग सार्वजनिक भएका छन् ।
जेनजी आन्दोलन सुरु भएको झन्डै डेढ महिनापछि पहिलोपटक सार्वजनिक भएका खड्का सोमबार बिहान फेसबुक लाइभमा पत्रकारहरूसँग कुरा गर्दै देखिए । उनी यसअघि विदेशमै रहेको कुरा आफूले नै स्वीकार गर्दै भारतको मेदान्त अस्पतालमा ११ दिनसम्म डेंगी उपचार गराएर फर्किएको बताएका छन् ।
“तराईतिर घुम्न निस्किएँ, त्यहीँ परिवारलाई डेंगी भयो, मलाई पनि भयो,” उनले भने, “भारत गएँ, मेदान्तमा उपचार गराएँ, अहिले डेंगी निको भएको छ, परिवारका सदस्य अहिले पनि त्यहीँ उपचाररत छन् ।”
तर उनी कहिले स्वदेश फर्किए भन्ने कुरा उनले स्पष्ट गरेका छैनन् । सम्भवतः आइतबार मात्रै नेपाल फर्किएको अनुमान गरिएको छ । गृहमन्त्री अर्यालले भने आफुले भागेको भनेर भनेपछि फर्केकव स्षप्टिकरण दिएका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ देखि उनी नेपाली सेनाको सुरक्षामा रहेको बताइन्छ । त्यसपछि केही दिन काठमाडौंमै रहेर बाहिर गएका उनले डेढ महिनापछि सार्वजनिक हुँदै आफ्नो परिवारको अवस्था र सरकारप्रतिको असन्तुष्टि व्यक्त गरे ।
“म पनि त मान्छे हुँ, मेरो पनि परिवार छ,” उनले भने, “सरकारमा बस्ने मान्छेले मिडियाका आधारहीन समाचारमार्फत समाजलाई दिग्भ्रमित बनायो । गृहमन्त्री कानुनकै विद्यार्थी, तर प्रमाणबिनै भाग्यो भन्ने आरोप लगाउनु मिल्छ ?”
खड्काले गृहमन्त्री अर्याल र केही सञ्चारमाध्यमप्रति तीव्र आक्रोश व्यक्त गर्दै भने, “कथित मिडियाले म एक जनाको पछाडि यसरी लाग्दा सिङ्गो समाज नै भ्रमित बनायो । मिडियाले आफ्नो धर्म र कर्तव्य सम्झनुपर्छ ।”
उनले आफूविरुद्ध सरकारले कुनै वारेन्ट जारी नगरेको र बाहिर जान रोकेको कुनै आदेश पनि नभएको दाबी गरे । “सरकारले केही काटेको छैन, रोक गरेको छैन । त्यसैले म भागेको भन्ने कुरा गलत हो,” उनले भने ।
फेसबुक लाइभमार्फत पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरेपछि गृहमन्त्री अर्यालमाथि व्यापक आलोचना सुरु भएको छ । अर्यालले आइतबारमात्रै खड्का विदेश फरार भएको दाबी गरेका थिए । खड्काको उपस्थितिपछि सरकारको सूचना संयन्त्र र गृहमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।









