जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा परेका सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतका तर्फबाट प्रहरीले जाहेरी दर्ता गरेको छ ।
अदालत प्रशासनले आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको हो ।
काठमाडौं प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान सुरु गरिएको छ । जाहेरी आउनुअघि पनि प्रहरी सर्वोच्च अदालतमा आगजनी र तोडफोडसम्बन्धी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा देशभरका २३ वटा न्यायालयमा क्षति पुगेको थियो । तीमध्ये १० वटा अदालतमा पूर्ण, ९ वटा आंशिक र ४ वटा अदालतमा सामान्य क्षति पुगेको न्याय परिषद् स्रोतले जनाएको छ । सर्वोच्च र जिल्ला अदालत काठमाडौंमा भएको क्षति ठूलो रहेको बताइन्छ। आगजनी र तोडफोडका बाबजुद अधिकांश अदालतले अहिले न्यायिक कार्य सञ्चालन पुनः सुरु गरिसकेका छन् ।
यसैबीच, भदौ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाबारे पनि आयोगले प्रहरीमा जाहेरी दिएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार करिब २४ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणसहित मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिइएको हो।
“लुटपाट, आगजनी र तोडफोडमा भएको क्षतिको मूल्यांकन गरी दोषी उपर कारबाहीका लागि जाहेरी दिएका छौं,” पौडेलले भने, “क्षति भएका प्रादेशिक कार्यालयहरूको हकमा सम्बन्धित कार्यालयहरूले स्थानीय प्रहरीमा पनि जाहेरी दिने तयारीमा छन्।”
भदौ २३ गते प्रहरी दमनमा परी १९ जना युवा–विद्यार्थीको मृत्यु भएपछि भोलिपल्ट २४ भदौ बिहानैदेखि देशभर विरोध प्रदर्शन तीव्र भएको थियो । त्यस क्रममा प्रदर्शनकारीको भीड अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनीमा उत्रिएको थियो ।
अख्तियारका कर्मचारीका अनुसार दिउँसो करिब ४ बजेतिर प्रदर्शनकारीहरू कार्यालयभित्र पसेका थिए । सुरुमा बाहिर पार्किङमा रहेका सवारीसाधनमा आगजनी गरियो र त्यसपछि भित्र पस्दै ल्यापटप, कम्प्युटर, मोबाइल लगायतका उपकरण लुटपाट गरिएको थियो ।
तीन घण्टा भन्दा बढी समयसम्म लुटपाट र तोडफोड चलेको थियो । यद्यपि, आयोगका अनुसन्धान फाइलहरू भने संयोगवश सुरक्षित रहेका थिए। प्रशासन महाशाखा र फरेन्सिक ल्याब जलेर ध्वस्त भए पनि अनुसन्धान कागजात जोगिएको अख्तियार स्रोतले जनाएको छ ।









