२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

‘जीरो टु ८८४८’ डकुमेन्ट्रीको विश्व प्रिमियर अटलान्टामा हुँदै



अमेरिकाको अटलान्टामा नेपालकै प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधतालाई विश्वसामु उजागर गर्ने डकुमेन्ट्री फिल्म ‘जीरो टु ८८४८’ सार्वजनिक प्रदर्शन हुँदैछ । यस प्रेरणादायी डकुमेन्ट्रीको विश्व प्रिमियर कार्यक्रम शनिवार (नोभेम्बर ८, २०२५) दिउँसो १२ बजेदेखि ३ बजेसम्म अटलान्टाको एएमसी नर्थ डेकल्व १६, डेकटरमा हुँदैछ।

चार वर्षको मेहनतमा तयार गरिएको यो फिल्मले नेपालको सबैभन्दा होचो भू–भाग कचनकवाल (५८ मिटर) देखि संसारकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) सम्मको अद्भुत यात्रा प्रस्तुत गर्छ । यसले नेपालको भौगोलिक उचाइको सम्पूर्ण फरक, संस्कृति, परम्परा, कला, वास्तुकला, वातावरणीय चेतना र मानवीय आत्मबलको कथा जोडेको छ ।

फिल्मको निर्देशन निरञ्जन पाण्डेले गरेका छन् भने सह–निर्देशन र सम्पादन बलराम बुढाथोकीले गरेका हुन् । अवधारणा प्रेम बनियाँको रहेको छ ।

‘जीरो टु ८८४८’ ले नेपालका विविध भू–भागहरू, हिमाल आरोहणका चुनौती, र मानव साहसको शक्ति सजीव रूपमा चित्रण गर्छ । फिल्ममा प्रेम बनियाँ, १८ पटक सगरमाथा आरोहण गरिसकेका टेन्डी शेर्पा, विश्व साइकलयात्री पुष्कर शाह, अमेरिकी रक क्लाइम्बर तथा लेखक कोनराड एंकर, र आरोही क्ले वाडम्यानको सहभागिता रहेको छ ।

फिल्मको सिनेमाटोग्राफी बलराम बुढाथोकीले गरेका हुन्, जसलाई उमंग शाही, सुरज गुरुङ, केशव निरौला, सुजन गुरुङ र दावा शेर्पाले सहयोग गरेका छन् ।

फिल्म जीरो टु ८८४८ इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको हो । सह–निर्मातामा कपिल शरण वाग्ले, राजेन्द्र पाण्डे, एलेक्स पराजुली, श्रीराम वाग्ले, जय नारायण साह र गोविन्द गुरुङ रहेका छन् । कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् ।

लगभग एक मिलियन अमेरिकी डलरको बजेटमा तयार यो फिल्मको समयावधि १ घण्टा ४६ मिनेटको छ । यसले सगरमाथाको महिमा मात्र होइन, नेपालमा साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र वातावरणीय सचेतनाको पनि प्रवर्द्धन गर्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  १० : १५ बजे