धावनमार्गको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि करिब चार घण्टा अबरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
विमानस्थलका निर्देशक तथा प्रवक्ता रेञ्जी शेर्पालेका अनुसार साँझ करिब साढे ५ बजेदेखि लाइटिङ प्रणालीमा समस्या देखिएपछि उडान र अवतरण रोकिएको थियो। करिब चार घण्टापछि समस्या समाधान भई विमानस्थल पुनः सुचारु गरिएको उनले बताए।
“के कारणले यो समस्या आएको हो भन्नेबारे थप अध्ययन हुनेछ, त्यसपछि मात्र ठ्याक्कै कारण भन्न सकिन्छ,” प्रवक्ता शेर्पाले भने।
लाइटिङमा समस्या आएपछि केही अन्तर्राष्ट्रिय जहाजहरूलाई आकाशमै ‘होल्ड’ गरिएको थियो भने केहीलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। आन्तरिक उडानका विमानहरूलाई भने त्रिभुवन विमानस्थलमै रोकिएको थियो।
रातिको समयमा धावनमार्गमा जहाजको उडान तथा अवतरणका लागि प्रयोग हुने उज्यालो प्रणालीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ। सो प्रणालीमा आएको समस्या समाधान भएसँगै अहिले विमानस्थलमा उडान र अवतरण सुचारु भएको विमानस्थल स्रोतले जनाएको छ।









