३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त



नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका कार्कीले बुधबारदेखि अवकाशमा जान लागेका वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङको स्थान लिनेछन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि बुधबारदेखि अवकाशमा जाँदैछन्।

प्रहरी सेवा प्रवेशको हिसाबले कार्की पहिलो नम्बरका एआईजी हुन्। उनी अहिलेकै अवस्थाबाट २०८४ चैत १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। कार्कीले २०५४ चैत १८ मा प्रहरी निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका थिए।

उनले २०६६ सालमा डिएसपी, २०७४ मा एसपी र २०७९ मा एसएसपीका रूपमा क्रमशः बढुवा पाएका थिए। एसएसपी हुँदा उनले काठमाडौँ प्रहरी परिसर प्रमुखका रूपमा काम गरेका थिए। त्यसपछि उनी प्रहरी महानिरीक्षकको सचिवालयमा समेत कार्यरत रहे।

कार्की २०८१ साल जेठमा डिआईजीमा बढुवा भएका थिए र त्यसबेलासम्म पनि महानिरीक्षकको सचिवालयमै रहँदै प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

२०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा भएका थिए, जहाँ राजन अधिकारी र मनोजकुमार केसी पनि उनको ब्याचका सहकर्मी रहेका थिए। एआईजीमा बढुवा भएपछि कार्की प्रहरीको मानव स्रोत विभागमा कार्यरत थिए।

भदौ २३ गतेको जेन-जी आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि उनलाई भदौ २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखका रूपमा सरुवा गरिएको थियो। उपत्यकाको नेतृत्व सम्हालेपछि उनले आन्दोलनका क्रममा बल प्रयोग गर्नुअघि मानवीय संवेदनशीलता र सुरक्षामाथि विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।

सरकारको सोमबारको निर्णयसँगै अब कार्कीले नेपाल प्रहरीको नयाँ नेतृत्व सम्हाल्दै संगठनलाई आगामी अवधिमा अगाडि बढाउने जिम्मेवारी पाउने भएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ९ : ४१ बजे