प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ १९:०० बजे न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कका लागि उडेका हुन् ।
भ्रमण तालिका अनुसार कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने छन् ।
प्रधानमन्त्री शाह दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।
सोही दिन न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा पुग्ने प्रधानमन्त्री शाहलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन् । त्यस लगत्तै उनको सम्मानमा नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने विशेष समारोहमा प्रधानमन्त्री शाह सरिक हुनेछन् ।
भ्रमणका क्रममा असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटघाट लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
आफ्नो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट पुनः दोहाका लागि प्रस्थान गर्नेछन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत एवम् बिदाई गर्नेछन् ।









