प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले कामको गति बढाउन, कार्यशैली परिवर्तन गर्न र सरकारी संयन्त्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न प्रशासनिक नेतृत्वलाई कडा निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार सरकारी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन्। उनले आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार, विकासमा देखिएको गतिहीनता र सुस्तता नै रहेको औँल्याएकी छन्। प्रधानमन्त्रीले सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि मन्त्रीहरू, सचिवहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुने भन्दै आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ताको प्रर्दशन’ बाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामो सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही काम भएकोमा धन्यवाद दिइन्। यद्यपि, उनले सरकारले आफ्नो प्रशासनिक प्रक्रिया सञ्चालन गरिरहने तर जनताको आकाङ्क्षा सम्बोधन नहुने, सार्वजनिक हितका लागि सरकारी स्रोत साधन परिचालन भइरहेको छ भन्ने कुरा जनताले महसुस गर्न नसकेका कारण नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रुपमा विस्फोट भएको उल्लेख गरिन्। उनले समग्र सरकारी संयन्त्रले यसबाट गहिरो पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताइन्।
समीक्षा बैठकमा प्रस्तुत तथ्य र तथ्याङ्कबाट आफूहरू खास सन्तुष्ट हुने अवस्था नभएको बताउँदै प्रधानमन्त्रीले तोकिएको अवधिमा आवधिक माइलस्टोनहरू पुरा हुन नसक्नु र सामान्य प्रशासनिक प्रक्रिया समेत पूरा नहुनु विडम्वनापूर्ण रहेको उल्लेख गरिन्। विशेषगरी पुँजीगत खर्च लक्ष्य अनुसार हुन नसकेको अवस्थामा आर्थिक वर्षको बाँकी अवधिमा थप गति बढाउनुपर्ने र भौतिक पूर्वाधार निर्माण तथा पुँजीगत खर्चको दायित्व बढी भएका मन्त्रालयहरूले आफ्नो कार्यशैली बदल्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले प्रदेश सरकारका निकायहरू र स्थानीय तहहरूसँग पनि प्रभावकारी समन्वय र सहकार्य गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्न सबै मन्त्री तथा सचिवहरूलाई आग्रह गरिन्। उनले आउँदो संवत् २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने प्रमुख दायित्व यो सरकारसँग रहेको स्मरण गराउँदै स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सबै निकायको सक्रिय भूमिकाको आवश्यकता पर्ने बताइन्। सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउँदै हरेक नागरिकलाई कानुनी शासनको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्थासँग सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरूलाई दत्तचित्त भएर लाग्न पनि उनले अनुरोध गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यस समीक्षा बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।









