१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

ह्वाइट हाउसनजिकै दुई सैनिकमाथि गोली प्रहार, आक्रमणकारी नियन्त्रणमा



अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसदेखि दुई ब्लकभन्दा कम दूरीमा बुधबार अपराह्न दुई नेसनल गार्डका सैनिकमाथि गोली प्रहार भएको छ। मेट्रो स्टेशन नजिकै तैनाथ सुरक्षा टोलीमाथि भएको आक्रमणमा दुवै सैनिक गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली चलाउने व्यक्तिलाई घटनास्थलमै नियन्त्रणमा लिइएको वाशिङ्टन डीसी प्रहरीले जनाएको छ। गोलीको आवाज सुनिनेबित्तिकै नजिकैका अन्य सैनिकहरूले आक्रमणकारीमाथि जबाफी गोली प्रहार गरे। उनलाई चार वटा गोली लागेको र उपचार भइरहेको बताइएको छ।

डीसी प्रहरीका कार्यकारी सहायक प्रमुख जेफ्री क्यारोलका अनुसार आक्रमण गर्ने व्यक्ति रहमानउल्ला लाकानवाल नामका २९ वर्षीय अफगानी नागरिक हुन्। एपीका अनुसार उनी सन् २०२१ मा जो बाइडेन प्रशासनको ‘अपररेशन अलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। अफगानिस्तानबाट अमेरिकी फिर्तीका क्रममा उक्त कार्यक्रममार्फत करिब ७६ हजार अफगान नागरिकलाई पुनःस्थापना गरिएको थियो। लाकानवाल पहिले अफगान सेनामा करिब १० वर्ष कार्यरत थिए र अमेरिकी विशेष फौजसँग सहकार्य गरेको समेत बताइएको छ। उनी विवाहित र पाँच छोराका पिता भएको नजिकका आफन्तले पुष्टि गरेका छन्।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिँदै लाकानवाल “बाइडेन प्रशासनको कुख्यात अपराधी भित्र्याउने उडानमार्फत आएको व्यक्ति” भएको आरोप लगाए। रिपब्लिकन सांसद र ट्रम्प समर्थकहरूले उक्त पुनःस्थापन कार्यक्रमको सुरक्षा प्रक्रिया कमजोर भएको दाबी गर्दै आलोचना दोहोऱ्याएका छन्। तर कार्यक्रमका समर्थकहरूले भने तालिबानको जोखिममा रहेका व्यक्तिहरूका लागि यो जीवनरक्षक कदम भएको तर्क गरेका छन्।

घटनापछि केहीबेरका लागि ह्वाइट हाउस क्षेत्र लकडाउन गरिएको थियो। वाशिङ्टन डीसीमा अहिले करिब २,२०० नेसनल गार्ड तैनाथ छन्, जसलाई प्रहरीजस्तै कानुन लागू गर्ने अधिकार छैन। ट्रम्पले गत अगस्टमा वाशिङ्टनमा बढ्दो अपराध नियन्त्रण गर्न नेसनल गार्ड पठाएका थिए। पछिल्लो तथ्यांकअनुसार मे २५ देखि नोभेम्बर २५ सम्म ६२ हत्या दर्ता भएका छन्, गत वर्ष यही अवधिमा १०७ थियो। त्यस्तै आपराधिक घटना ९,५०० बाट घटेर करिब ६,५०० मा झरेको छ।

आक्रमणमा प्रयोग गरिएको हतियार र उद्देश्यमाथि भने अहिलेसम्म स्पष्टता आएको छैन। सुरक्षा निकायहरूले विस्तृत अनुसन्धान अघि बढाएका छन् र राजधानी क्षेत्र उच्च सतर्कतामा राखिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  ७ : ३४ बजे