२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026



ट्रम्पद्वारा आप्रवासन नीतिमाथि कडा प्रहार; ‘रिभर्स माइग्रेसन’ नै देश बचाउने एक मात्र उपाय

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तेस्रो विश्वका देशहरू’बाट हुने आप्रवासनलाई पूर्णरूपमा रोक्ने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकी नागरिकको हित र सुरक्षालाई कमजोर पार्ने आप्रवासीहरूलाई देश निका ला गर्ने समेत बताए ।

देशलाई बचाउने एक मात्र उपायको रूपमा उनले ‘रिभर्स माइग्रेसन’ (उल्टो आप्रवासन) लाई अगाडि सारेका छन् । ट्रम्पका अनुसार अवैध रूपमा बसोबास गर्ने र अमेरिकाको ‘पश्चिमी सभ्यता’ सँग मेल नखाने व्यक्तिहरूलाई देशबाट बाहिर निकाल्नु नै अमेरिकाको समस्याको ‘पूर्ण उपचार’ हो भनेका छन् ।

उनले सामाजिक सञ्जालमा ‘ह्याप्पी थ्याङ्क्सगिभिङ’ को शुभकामना दिने क्रममा आप्रवासन, शरणार्थी र देशको वर्तमान अवस्थाको सम्बन्धमा अत्यन्तै विवादास्पद र आक्रामक सन्देश पोस्ट गरेका हुन् ।

ट्रम्पले आफ्नो सन्देशमा अमेरिका आज ‘विभाजित’, ‘धोका दिइएको’, ‘हत्या गरिएको’ र ‘बलात्कार गरिएको’ अवस्थामा रहेको बताउँदै यसका लागि विदेशीहरूलाई दोष दिएका हुन् । उनको दाबी छ कि अमेरिकामा ५ करोड ३० लाखभन्दा बढी आप्रवासीहरू छन्, जसमध्ये अधिकांश कल्याणकारी सुविधामा निर्भर छन् र उनीहरूको उपस्थितिले देशमा ‘सामाजिक दुष्कार्य’ उत्पन्न गरेको छ। उनले ‘असफल विद्यालय’, ‘उच्च अपराध दर’, ‘शहरी विनाश’, र ‘बढी भीडभाड भएका अस्पतालहरू’ जस्ता समस्याहरूको मूल कारण यही आप्रवासी भार रहेको ठोकुवा समेत गरेका छन् ।

सन्देशमा ट्रम्पले विशेष गरी सोमाली शरणार्थी समुदायमाथि निशाना लगाउँदै सोमाली गिरोहहरूले बाटोमा हिँड्ने नागरिकहरूलाई शिकार बनाइरहेको र मिनेसोटाका गभर्नर टिम वाल्ज तथा सांसद इल्हान ओमरले यस विषयमा पर्याप्त ध्यान नदिएको आरोप लगाए ।

उनले बाइडेन प्रशासनका सबै आप्रवासन नीतिहरूलाई ‘स्थायी रूपमा निलम्बन’ गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पको यो कडा सन्देशले थ्याङ्क्सगिभिङ बिदाको समयमा पनि अमेरिकी राजनीति र आप्रवासन बहसलाई पुन: तातेको छ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  ११ : ३० बजे