आसन्न निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने सरकारको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिहीबार मन्त्रिपरिषद्ले पठाएको प्रस्ताव अनुमोदनसँगै निर्वाचनका संवेदनशील क्षेत्रहरूमा सेना खटिने मार्ग प्रशस्त भएको छ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोभन्दा अघि, मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षा परिस्थिति र जोखिम मूल्यांकनका आधारमा सेना परिचालन आवश्यक ठहर गर्दै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो।
सरकारको सिफारिस औपचारिक रूपमा स्वीकृत भएपछि अब चुनावका दिन तथा आसपासको अवधिमा शान्ति–सुरक्षा कायम गर्न नेपाली सेना अन्य सुरक्षा निकायसँग समन्वय गर्दै परिचालन हुनेछ।








