नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नियमित महाधिवेशन पुस मसान्तभित्रै सम्पन्न गर्ने दिशामा प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। शुक्रबार महाराजगञ्जस्थित निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले विशेष महाधिवेशनको माग छाडेर नियमित प्रक्रियामा एकठाउँ उभिन नेताहरूलाई आग्रह गरेका हुन्।
बैठकका सहभागीका अनुसार देउवाले आफू नेतृत्व छोड्न तयार भइसके पनि नेताहरू विशेष र नियमित महाधिवेशनको विवादमा उल्झिरहेकोप्रति असन्तुष्टि व्यक्त गरे। “मैले नेतृत्व छोड्ने भनिसकेँ, अब पुस मसान्तसम्म महाधिवेशन गर्न किन नसक्ने?” भन्दै देउवाले कार्यशैलीमा एकता आवश्यक रहेको उल्लेख गरेका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन गर्न समय अपुग हुने आशंका व्यक्त गरेका थिए । उनीहरूका अनुसार क्रियाशील नवीकरण, सदस्यता वितरण तथा आइटी प्रणालीमार्फत आवश्यक विवरण अपडेट गर्ने कार्य चुनौतीपूर्ण रहेकाले फास्ट ट्रयाकबाट जाने कमिटमेन्ट आवश्यक छ।
बैठकमा नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरलाई निवेदन फिर्ता लिन आग्रह गरे पनि महामन्त्री थापाले सो जिम्मेवारी लिन नसक्ने बताएका थिए। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेकाले विषय संवेदनशील बनेको छ।
उता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवाद समाधानका लागि निरन्तर संवाद गरिरहेका छन्। शनिबार बिहान ८ बजेका लागि अनौपचारिक छलफलको प्रस्ताव गरे पनि विशेष पक्षधरले भने औपचारिक प्रक्रियामार्फत मात्र छलफल हुनुपर्ने अडान दोहोर्याएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो २ बजे बस्नेछ। सो बैठकमा नियमित महाधिवेशनको तालिका पेस हुने अपेक्षा गरिएको छ। लगातारको छलफलपछि नेताहरू सहमतिनजिक पुगेका भन्दै पार्टीभित्र समाधानको वातावरण बन्दै गएको संकेत देखिएको छ।








