२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

पदाधिकारी र केन्द्रीय सदस्य बढाउने प्रस्ताव एमाले महाधिवेशनको बन्दसत्रबाट पारित, यस्तो छ निर्वाचन तालिका



नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत भएको बन्द सत्रले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने व्यवस्था सहित संशोधित विधान पारित गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले निर्णय गरेको विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरेका थिए, जसलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेका हुन्।

बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई अझ व्यवस्थित र सशक्त बनाउन विधान संशोधन गरी धेरै नेतालाई जिम्मेवारी दिन आवश्यक रहेको बताएका थिए। उनले संगठन विस्तार र कार्यसम्पादनलाई प्रभावकारी बनाउन संरचनागत सुधार अपरिहार्य भएको तर्क गरेका थिए।

तर विधान संशोधनको विषयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक धारणा राखेका थिए। उनले विधान बारम्बार र छिटो–छिटो संशोधन गरिरहने दस्तावेज नभएको उल्लेख गर्दै यस विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए। पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोक्नु गलत भएको टिप्पणी पनि गरेका थिए। साथै, उनले पार्टी जीवनमा लोकतन्त्र, नेताहरूको कार्यशैली र फरक मतलाई गर्नुपर्ने व्यवहारका विषय समेटिएको अवधारणापत्र समेत प्रस्तुत गरेका थिए।

यसैबीच एमाले नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुने भएको छ। नेतृत्वका लागि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन विद्युतीय मेसिनमार्फत गरिने बताइएको छ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो। आइतबार बिहानदेखि बन्द सत्र काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ। महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
यस्तो छ निर्वाचन कार्यतालिका:

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  १० : १० बजे