काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले करिब १५ महिना कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् ।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले पार्टी कार्यालय ‘घन्टीघर’ प्रवेश गर्नुअघि मेयर पदबाट राजीनामा दिएका हुन् । उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर जितेका थिए ।
स्थानीय तह निर्वाचन ऐनअनुसार कुनै कारणले मेयरसहितका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन गर्ने व्यवस्था छ । तर बाँकी कार्यकाल एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि सोही कानुनमा उल्लेख गरिएको छ ।
उपनिर्वाचन भएर नयाँ मेयर निर्वाचित नहुञ्जेल उपमेयरले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल बालेन शाहको राजीनामापछि स्वतः कार्यवाहक मेयर भएकी छन् । उनी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।
रास्वपाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले बालेन शाहले मेयर पदबाट राजीनामा दिएका हुन् । उनले आइतबारदेखि लागू हुने गरी उपमेयर सुनीता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।








