स्पेन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत प्रदान गर्ने ऐतिहासिक निर्णय गरेको छ ।
मंगलबार जारी गरिएको शाही आदेशसँगै स्पेनमा कागजातविहीन अवस्थामा रहेका ठूलो संख्याका नेपाली श्रमिकहरूका लागि पनि त्यहाँ बस्ने र काम गर्ने कानुनी बाटो खुलेको हो । पछिल्लो समय रोमानिया, क्रोएसिया र बुल्गेरियाको भिसा लिएर युरोप छिर्ने र पछि स्पेन पुगेर कागजातविहीन हुने नेपालीहरूको संख्या बढिरहेका बेला यो निर्णय निकै महत्त्वपूर्ण मानिएको छ ।
स्पेनकी सामाजिक सुरक्षा, आप्रवासन तथा समावेशीकरण मन्त्री एल्मा साइजले सरकारी प्रसारक आरटिभीईसँग कुरा गर्दै यो कदम स्पेनमा पहिलेदेखि नै बसोबास गरिरहेका आप्रवासीहरूको मान्यता र सम्मानका लागि चालिएको बताएकी हुन् । उनका अनुसार यो योजना अन्तर्गत कानुनी हैसियत पाउने आप्रवासीहरूले स्पेनको जुनसुकै भाग र क्षेत्रमा काम गर्न पाउनेछन् । आगामी अप्रिलदेखि जुनको अन्त्यसम्म सञ्चालन हुने यस योजनामा आवेदकका सन्तानहरूलाई पनि समेटिनेछ ।
आप्रवासन मन्त्रालयका अनुसार ३१ डिसेम्बर २०२५ भन्दा अगाडि स्पेन प्रवेश गरेका र आवेदन दिँदाको समयमा कम्तीमा ५ महिना लगातार बसोबास गरेको प्रमाण पेश गर्न सक्नेले यसमा सहभागी हुन पाउनेछन् । यसका लागि आवेदकको आपराधिक पृष्ठभूमि नभएको र सार्वजनिक सुरक्षाका लागि खतरा नमानिएको हुनुपर्नेछ । सुरुमा एक वर्षको आवास अनुमति प्रदान गरिने र पछि त्यसलाई नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । स्पेनमा करिब दुई दशकपछि यति ठूलो संख्यामा आप्रवासीलाई वैधानिकता दिन लागिएको हो ।
स्पेनका गैरआवासीय नेपाली अगुवाहरुले यो योजनाबाट नेपालीहरू पनि लाभन्वित हुने बताएका छन् । स्पेनमा झन्डै ५० हजार नेपाली रहेको अनुमान गरिएकोमा ठूलो हिस्सा कागजातविहीन रहेको र उनीहरूले घर भाडामा लिन, बैंक खाता खोल्न र नेपाल आउजाउ गर्न समस्या भोगिरहेको बताइएको छ ।









