त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई झुठा विवरण पेश गरी पद प्राप्त गरेको ठहर गर्दै विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईंलाई कैदका साथै १० हजार रुपैयाँ जरिवाना र ४०० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।
प्रसाईंले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह-परीक्षा नियन्त्रक पदमा नियुक्त हुनका लागि आफूले विद्यावारिधि (पीएचडी) गरेको भन्दै स्वघोषणासहित झुठा विवरण पेश गरेका थिए।
सोही विवरणका आधारमा मूल्यांकन समितिले उनलाई ८ अंक प्रदान गरेको थियो, जसले गर्दा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनी २०८१ मंसिर १८ गते सह-परीक्षा नियन्त्रक पदमा नियुक्त हुन सफल भएका थिए।
उनले विद्यावारिधि नगरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो। त्रिविको अनुसन्धान समितिले २०८१ माघ २९ गते गरेको निर्णयअनुसार प्रसाईंले विद्यावारिधि प्राप्त नगरेको पुष्टि भएको अदालतको फैसलामा उल्लेख छ।
अदालतले प्रसाईं पहिले पनि सोही पदमा कार्य गरिसकेको र हाल आवेदन दिन योग्यता पुगेको अवस्था भए तापनि नियुक्तिका लागि झुठा विवरण पेश गरेको कार्यलाई कसूर ठहर गरेको छ।
यसै मुद्दामा अख्तियारले प्रतिवादी बनाएका अन्य तीन जना जललक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतिलाल शर्मालाई भने विशेष अदालतले सफाइ दिएको छ। उनीहरूको हकमा अभियोग दाबी नपुग्ने भन्दै अदालतले सफाइ दिने निर्णय सुनाएको हो।







