नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोग मा सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।
एमालेले आदिवासी जनजाति क्लस्टरबाट भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरेको छ। खस–आर्य क्लस्टरबाट पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्।
त्यसैगरी थारू क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया विक र नीता घतानी, मधेसी क्लस्टरबाट रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीको नाम सिफारिस गरिएको उपमहासचिव भट्टले बताए।
बैठकले अध्यक्ष ओलीका ९७ वर्षीय बुवाको फागुन २९ गते बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले अध्यक्ष ओली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।
यसैबीच श्रम संस्कृति पार्टी ले पनि समानुपातिकतर्फ चार जनाको नाम आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय सदस्य समीर तामाङका अनुसार आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस–आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ। प्रत्यक्षमा सुनसरी–१ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्। समानुपातिकसहित अब प्रतिनिधिसभामा उक्त पार्टीका सात जना सांसद हुनेछन्।
समानुपातिक सांसद बन्ने आकांक्षी धेरै भएपछि पार्टीभित्र विवाद समेत देखिएको थियो। विवादकै कारण बन्द सूचीमा रहेका उम्मेदवार जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जालमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए।
समानुपातिक सांसद बन्न लबिइङ तीव्र भएपछि हर्क साम्पाङले यसअघि सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै दबाब दिनेहरूलाई पार्टीबाट निकाल्ने चेतावनीसमेत दिएका थिए।









