१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

बालेन शाह संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो



बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

बैठकमा रवि लामिछाने ले शाहको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूको समेत सहभागिता रहेको थियो । यसअघि केन्द्रीय समितिले गरेको निर्णयलाई संसदीय दलले अनुमोदन गरेको हो ।

शाह संसदीय दलको नेता चयन भएसँगै अब उनी प्रधानमन्त्री बन्ने संवैधानिक प्रक्रियामा अघि बढेका छन् । नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ ।

यस प्रावधानअनुसार, संसदमा बहुमत समर्थन सुनिश्चित गरेपछि शाहले राष्ट्रपतिसमक्ष सरकार गठनका लागि दाबी पेश गर्न सक्नेछन् । यसका लागि छुट्टै निर्वाचन आवश्यक नपर्ने, केवल बहुमत सदस्यको समर्थन पर्याप्त हुने व्यवस्था छ ।

रास्वपाले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणलगत्तै शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको थियो । सोहीअनुसार अब सरकार गठनको प्रक्रिया राष्ट्रपति कार्यालयतर्फ अघि बढेको छ ।

शाहले चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । शपथ समारोहलाई विशेष बनाउने तयारीस्वरूप ७ वटा शंखबाट शंखनाद गरिनेछ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समारोहमा १०८ जना बटुकद्वारा स्वस्ति वाचन र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम राखिएको छ ।

शपथ ग्रहणपछि शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । सोही परिणामअनुसार अब रास्वपाले एकल सरकार गठन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ५ : ५७ बजे