जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा विभागले विस्तृत छानबिन गरिरहेको थियो ।
गृह स्रोतका अनुसार विदेशमा रहेका देउवा दम्पतीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया सुरु गर्न यो कदम चालिएको हो । इन्टरपोलको नियमअनुसार कुनै पनि व्यक्तिविरुद्ध रेड नोटिस जारी गर्नुअघि सम्बन्धित देशको अदालतबाट पक्राउ पुर्जी जारी भएको हुनुपर्छ । सरकारले देउवासँगै पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्काविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएसँगै देउवा परिवार विदेशमा रहेको छ । १० कात्तिकमा ‘जेन-जी’ आन्दोलनपछि उपचारका लागि भन्दै उनीहरू सिंगापुर गएका थिए । फागुन १३ मा देउवा पुनः सिंगापुर गएका थिए भने आरजु त्यसअघि नै भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू बीचमा उपचारका लागि हङकङ गएर पुनः सिंगापुर नै फर्किएको जानकारी प्राप्त भएको छ ।
यसैबीच आफू र परिवारविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । बुधबार साँझ फेसबुकमा लेख्दै उनले भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ। यो सबै भ्रामक र झुटा प्रचारबाजी हो ।”
उनले आफू सार्वजनिक पदमा रहँदा सधैं सम्पत्तिको यथार्थ विवरण बुझाएको र आफ्नो जीवन एक “खुला पुस्तक” जस्तै रहेको दाबी गरेका छन्। आफू हाल विदेशमा उपचार गराइरहेको र वास्तविकता समयक्रमसँगै खुल्दै जाने बताउँदै उनले भ्रममा नपर्न सबैलाई अपिल गरेका छन् ।
नेपाल इन्टरपोलको सदस्य राष्ट्र भएको नाताले फरार व्यक्तिको खोजीका लागि ‘नेसनल सेन्ट्रल ब्युरो’मार्फत रेड नोटिस जारी गर्न अनुरोध गर्न सक्छ । इन्टरपोलले विवरणहरू जाँच गरी आवश्यक ठानेमा विश्वभरका सदस्य राष्ट्रहरूमा सर्कुलर जारी गर्दछ, जसले गर्दा विदेशमा रहेका आरोपीलाई पक्राउ गरी स्वदेश फर्काउन सहज हुन्छ ।








