सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र सहसचिव अरुण पोखरेलसहित २८ व्यक्ति तथा एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तीन वर्षअघिको चर्चित सुन तस्करी प्रकरणसँग जोडिएको यस मुद्दामा आयोगले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी कारबाही अघि बढाएको हो ।
आयोगका अनुसार प्रारम्भिक छानबिन र अनुसन्धानमा लापरबाही तथा मिलेमतो देखिएका कर्मचारीहरूविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ । त्यस्तै, तस्करी प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका पूर्वसभामुख महरासहित अन्य व्यक्तिहरूविरुद्ध पनि एकमुष्ट बिगो दाबी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित विभिन्न भन्सार अधिकृत र कर्मचारीहरूलाई पनि एउटै बिगो दाबीमा समेटिएको छ।
यो प्रकरण २०७९ पुस १० गतेको घटनासँग जोडिएको हो, जसलाई ‘भेप प्रकरण’का रूपमा चिनिन्छ। उक्त दिन दुबईबाट आएको उडानमार्फत विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर नेपाल भित्र्याइएको थियो। ७३ वटा बट्टामा राखिएका ७३० वटा भेपभित्र करिब ९ केजी सुन लुकाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। सामान शंकास्पद देखिएपछि विमानस्थल भन्सारले सोही दिन नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा चिनियाँ नागरिक ली हाङसङमार्फत ल्याइएको उक्त सुन भन्सारमा रोकिएपछि त्यसलाई छुटाउन विभिन्न तहमा चलखेल भएको खुलेको थियो। सुनका मालिक मानिएका दावाजिन वाङसँगको सम्बन्धका आधारमा पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा भन्सारबाट सामान छुटाउन सक्रिय भएको आरोप छ। यस क्रममा उनीहरूले भन्सार कर्मचारी र अन्य व्यक्तिसँग सयौं पटक फोन सम्पर्क गरेको तथ्य पनि बाहिरिएको थियो।
भन्सारले नियन्त्रणमा लिएको केही दिनपछि गोदाममै राखिएको भेपबाट सुन चोरी भएको घटना बाहिरियो। पछि अनुसन्धानमा भन्सार कर्मचारी र बिचौलियाको मिलेमतोमा सुन निकालेर बाहिरबाट सामान्य भेप राखिएको खुलासा भएको थियो। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा करिब ९ केजी सुनमध्ये अधिकांश भाग गायब पारिएको र करिब १ सय ग्राम मात्र फेला परेको उल्लेख छ।
यसअघि उक्त प्रकरणमा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा महरा र पोखरेल प्रतिवादी नभए पनि पछिल्लो अनुसन्धान र प्रमाणका आधारमा अख्तियारले उनीहरूलाई समेत भ्रष्टाचार मुद्दामा तानेको हो। सार्वजनिक पदको दुरुपयोग गरी सुन तस्करीमा संलग्न रहेको आरोपसहित महराविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यस प्रकरणमा भारत, चीन र अन्य देशका नागरिकहरू समेत संलग्न रहेको देखिएको छ। तस्करीको सुन भारतसम्म पुर्याउने योजना रहेको भए पनि बीचमै सेटिङ बिग्रिएपछि घटना सार्वजनिक भएको अनुसन्धानले देखाएको छ।
यसअघि यही मुद्दामा पक्राउ परेका महरा पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए। अब भने अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दासँगै प्रकरणले नयाँ कानुनी मोड लिएको छ।








