१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्यविरुद्ध नागरिक अगुवाको आपत्ति



काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरी सुकुम्वासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको घटनाप्रति नागरिक अगुवाहरूले कडा आपत्ति जनाएका छन् । शनिबार ५४ जना नागरिक अगुवाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा सुकुम्वासीहरूको वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउनु संविधान, कानुन र विधिको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ । यस्तो कार्यले गम्भीर मानवीय, सामाजिक तथा आर्थिक संकट निम्त्याएको उनीहरूको भनाइ छ । बस्ती हटाउने क्रममा एक नाबालक र एक ज्येष्ठ नागरिकको मृत्यु भएको उल्लेख गर्दै नागरिक अगुवाहरूले यसलाई राज्यको असंवेदनशीलता र मानव अधिकार उल्लंघनको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

नागरिक अगुवाहरूका अनुसार पूर्वसूचना नदिई, प्रभावित समुदायसँग संवाद नगरी तथा उचित वैकल्पिक व्यवस्था नगरी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरी सुकुम्वासीहरूलाई हटाइएको हो। यसलाई उनीहरूले अमानवीय, क्रूर र आतंकपूर्ण कार्यशैलीका रूपमा चित्रण गरेका छन् ।

सुकुम्वासी समस्या केवल भूमिहीनताको प्रश्न नभई राज्यको नीति तथा योजना कार्यान्वयनको असफलता, संस्थागत असंवेदनशीलता तथा जातीय र वर्गीय विभेदसँग जोडिएको विषय भएको नागरिक अगुवाहरूले बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा यस्तो व्यवहार अस्वीकार्य हुने उनीहरूको धारणा छ ।

नागरिक अगुवाहरूले घटनाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेका छन् । साथै, सर्वोच्च अदालतलाई आफ्ना आदेशहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी न्याय प्रणालीमाथिको जनविश्वास कायम राख्न अपिल गरिएको छ ।

विज्ञप्तिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी तथा विपक्षी दलहरूलाई पनि यस विषयमा गम्भीर हुन आग्रह गरिएको छ । विस्थापित बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकको तत्काल उचित व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ ।

नागरिक अगुवाहरूले पर्याप्त तयारी बिना सुकुम्वासी बस्ती हटाउने कार्य तुरुन्त रोक्न आग्रह गरेका छन् । सैन्य तथा सुरक्षाकर्मीको बल प्रयोग गरी संविधानविपरीत गरिने गतिविधि तत्काल बन्द गर्न उनीहरूले सरकारसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : १९ बजे