१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह



भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ ।

थाइल्यान्डस्थित नेपाली दूतावासले आइतबार सूचना जारी गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्दा पनि स्वदेश फर्किन आवश्यक पहल नगरेका नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्किन अनुरोध गरेको हो ।

दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारले विशेष सहजीकरण गर्दै भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरेको थियो । सो व्यवस्थाअन्तर्गत उनीहरूलाई स्वदेश फर्किने अवसर प्रदान गरिएको थियो ।

तर ईमेल, टेलिफोन तथा ह्वाट्सएपमार्फत पटक–पटक सम्पर्क गर्दा पनि ६६ जना नेपाली नागरिकले नेपाल फर्किन आवश्यक तत्परता नदेखाएको दूतावासले जनाएको छ ।

दूतावासले कम्बोडियामा लागू भएको नयाँ कानुनअनुसार तोकिएको समयभित्र आफ्नो देश नफर्कने विदेशी नागरिकमाथि कडा कारबाही हुन सक्ने चेतावनी दिएको छ । उक्त कानुनअनुसार अनुसन्धानपछि कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको जनाइएको छ ।

दूतावासले जारी गरेको सूचनामा सम्बन्धित नेपाली नागरिकलाई कनेक्टिङ उडानसहितको हवाई टिकटको व्यवस्था गरी आगामी जुन १२, २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिएको छ ।

साथै, कम्बोडियामा रहेका ती नेपालीका परिवारजन र आफन्तलाई समेत सूचना आधार मानी आफ्ना सदस्यलाई यथाशीघ्र स्वदेश फर्काउन आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

दूतावासले समयमै स्वदेश नफर्किए कानुनी जटिलता र थप समस्या उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित सबै नेपाली नागरिकलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्किन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १० : २७ बजे