राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण तथा जनसम्पर्क कार्यक्रमलाई थप व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउन ५ बुँदे निर्देशन जारी गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको निर्देशनमा सांसदहरूले निर्वाचन क्षेत्र तथा अन्य जिल्लाको भ्रमण गर्दा पार्टी संरचनासँग समन्वय, स्थानीय मुद्दाको पहिचान, मितव्ययी कार्यक्रम सञ्चालन र जनगुनासाको संस्थागत अभिलेखीकरणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
निर्देशनअनुसार कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय भएलगत्तै सम्बन्धित पार्टी समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्नेछ । साथै, आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा कार्यक्रम भए सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग पूर्वसमन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपाले भ्रमणका क्रममा स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका ज्वलन्त र प्राथमिकताका मुद्दा पहिचान गर्न तथा ती समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयलाई कार्यक्रमको मुख्य एजेन्डा बनाउन पनि सांसदहरूलाई निर्देशन दिएको छ ।
यस्तै, कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको सक्रिय नेतृत्व र अपनत्व सुनिश्चित गर्नुपर्ने, अनावश्यक तडकभडक र खर्च नगरी मितव्ययी ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा त्यसमार्फत सुशासनको राजनीतिक सन्देश प्रवाह गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
रास्वपाले निर्वाचन क्षेत्र भ्रमणका क्रममा नागरिकबाट प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिबाट प्राप्त वस्तुगत प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न पनि सांसदहरूलाई आग्रह गरेको छ।
रास्वपाको ५ बुँदे निर्देशन
- संस्थागत समन्वय र पूर्वसूचना: भ्रमणअघि सम्बन्धित समिति, सांसद र पार्टी संयन्त्रलाई अनिवार्य जानकारी दिने।
- स्थानीय मुद्दाको प्राथमिकीकरण: स्थानीय समितिसँग छलफल गरी ज्वलन्त समस्यालाई प्राथमिकतामा राख्दै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने।
- सांगठनिक अपनत्व र जनपरिचालन: कार्यक्रम स्थानीय पार्टी संरचनाको नेतृत्व र सहभागितामा सञ्चालन गर्ने।
- मितव्ययिता र सुशासन: अनावश्यक खर्च र तडकभडक नगरी मितव्ययी रूपमा कार्यक्रम सञ्चालन गर्दै सुशासनको सन्देश दिने।
- नीतिगत पृष्ठपोषण प्रणाली: नागरिकका सुझाव, गुनासा र स्थानीय प्रतिवेदनलाई अभिलेखीकरण गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्ने।









